काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिनबारे जानकारी दिनका लागि राष्ट्रियसभामा आवाज उठेको छ । आज बसेको राष्ट्रियसभा बैठकमा सांसद चक्रप्रसाद स्नेहरीले वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्रीको नाम मुछिएसँगै यो विषय छाँयामा परेको भन्दै असन्तुष्टि जनाए ।
उनले त्यसबारे के भइरहेको छ भन्ने विषय सदनलाई जान गराउन सरकारसमक्ष माग गरेका छन्। ’अहिले वाइडबडी कहाँ हरायो ? ठूलो मान्छेको नाम आउने बित्तिकै कुनै सुनवाइ हुने होइन भने राज्यमा कानुन छ कि छैन? भन्ने हुन्छ’, स्नेहीले भने, ’जितेन्द्र नारायणदेव मन्त्री हुनु एक महिना पहिले वाइडबडी खरिदमा पहिलो किस्ता दिने महामानव को थिए? उनका विषयमा अहिले न्यायिक समितले छानबिन गर्न सक्छ कि सक्दैन ? स्नेहरी प्रश्न गरे । वहालवाला मन्त्री होस् वा पूर्वप्रधानमन्त्री जो भए पनि कारबाही हुनुपर्ने उनको भनाइ थियो ।
वाइडबडी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम जोडिएको छ। उनको पालामा नै पहिलो किस्तास्वरुप ८ अर्ब रकम बुझाएको लेखा समिति सदस्यले बताएका छन्।
त्यसैगरी आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गरे ।
सांसद अधिकारीले विद्यार्थी, अभिभावक, आम जनताको सरोकारको विषय रहेको शिक्षाको कुरालाई सरकारले गुमराहमा राख्नु आश्चर्यजनक भएको टिप्पणी गर्दै सरकार, शिक्षा मन्त्रालय र आयोगको मात्र विषयवस्तु नभएको हुँदा तत्काल सार्वजनिक गर्न माग गरे ।


















