सिओल– दक्षिण कोरियामा रहेका विदेशी कामदारले कमाएको रकम पठाउन नेपाली कै लगानीमा पहिलोपटक स्टार रेमिटले आफेनो सेवा आउने आइतबारबाट औपचारिक रुपमा सुरुवात गर्दै छ ।
दक्षिण कोरिया रहि लामोसमयदेखि व्यवसाय गर्दै आएका लक्ष्मण बोगटी र रुद्र शर्माले रेमिटेयान्सको कारोबार सुरु गर्न लागेका हुन् । रेमिट कम्पनीहरुलाई कारोबार अनुमति खुला गरेको एक वर्षपछि नेपाली लगानीकर्ताले स्थापना गरेको एकमात्र रेमिट कम्पनी स्टार रेमिट हो ।
यसअघि कोरियाली लगानीकर्ताहरुले सञ्चालनमा ल्याएका रेसिट्यान्स कम्पनीले मात्रै कारोबार गर्दै आएका थिए। जनवरी १३ गते आइतबारदेखि औपचारीक रुपमा सञ्चालनमा आउने रेमिट्यान्स कम्पनी ‘स्टार रेमिट’ नेपालीमार्फत सञ्चालित पहिलो रेमिट कम्पनी हो।
कम्पनीले कोरियाबाट नेपाल लगायत १७ देशमा आफ्नो सेवा एकैसाथ सञ्चालनमा ल्याउने सँचालक लक्ष्मण बोगटीले बताए ।
रेमिटले नेपालमा इशारा रेमिट, सेवा रेमिट र कुमारी बैंकसँग सहकार्य गर्ने जनाइएको छ ।
नेपालीहरुकै लगानीलाई प्रोत्साहन गर्नका लागि ‘स्टार रेमिट’को उपयोग गर्न कोरियामा रहेका नेपालीलाई सँचालक व्दय बोगटी र शर्माले आग्रह समेत गरेका छन्।
कोरियामा बैंकहरुको एकाधिकारलाई तोड्दै गतवर्ष देखि कोरियन सरकारले रेमिट कम्पनीलाई पनि कारोबारको अनुमति दिएको थियो । अनुमती पाएपछि धमाधम रेमिट कम्पनीहरु खोल्ने होडबाजी चलेको छ ।

दक्षिण कोरियामा जिएमई, हानपास, जी मोनी, एसबिआई कोषमनि, इनाइन पे लगायत रेमिट कम्पनीहरुले आफ्नो सेवा दिइरहेका छन्।
नेपाली कै लगानीमा सँचालनमा आएको स्टार रेमिटले अन्य रेमिट कम्पनीले भन्दा पनि सहज,छिटो,छरितो र शुलभ दरमा रेमिटेयान्स सेवा दिने सँचालकहरुले बताएका छन् ।



















