सम्बन्ध विच्छेद गर्ने पुरुषहरुको संख्या बढ्यो

कञ्चनपुर  । कञ्चनपुरमा सम्बन्ध विच्छेद गर्ने पुरुषहरुको संख्या बढेको छ । भदौ १ गतेबाट नयाँ मुलकी संहिता लागु भएपछि नयाँ कानुनलाई टेक्दै सम्बन्ध बिच्छेदका लागि अदालत जाने पुरुषहरुको संख्या बढेको हो ।

चालु आर्थिक वर्षमा जिल्ला अदालत कञ्चनपुरमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दायर भएका छन् । जसमध्ये पुरुषतर्फ २५ र महिलातर्फ २४ वटा मद्दा दायर भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ४३ वटा मुद्दा दायर भएका थिए ।

कञ्चनपुरमा विगतको तुलनामा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्नेको संख्या बढेको जिल्ला अदालत कञ्चपुरका श्रेस्तेदार हरिकृष्ण जोशीले बताए ।

उनले २०७५ भदौ एक गते नयाँ कानुन लागु भएपछि त्यसको उपयोग गर्दै पुरुषहरुले नै सम्बन्ध विच्छेद लागि बढी मुद्दा दायर गरेको बताए ।

उनका अनुसार दर्ता भएका ४९ मुद्दामध्ये महिलाले दायर गरेका ३ वटा फिर्ता भएका छन् ।

‘पुरानो मुलकी ऐनमा श्रीमतीले मात्र श्रीमानसँग सम्बन्ध बिच्छेद गर्न सक्ने प्रावाधन थियो’, उनले भने ‘भदौबाट नयाँ देवानी र फौजदारी संहिता आइसकेपछि पुरुष पनि आफ्नो अधिकारको प्रयोग गर्दै सम्बन्ध विच्छेदका लागि अदालत पुगेका छन् ।’

सरकारले हालै कार्यान्वयनमा ल्याएको नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ अन्र्तगत श्रीमानले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने भएपछि सम्बन्ध विच्छेद गर्न खोज्ने पुरुषहरुको संख्या बढेको हो ।

यसअघि, पुरुषका लागि सम्बन्ध विच्छेद गर्न झण्झटिलो प्रक्रिया रहेको बताउदै सिधै अदालत जान पाउने प्रावधान नभएको बताए ।

‘पहिले श्रीमानले सम्बन्ध विच्छेद गर्न चाहे सम्बन्धीत स्थानीय तहमा निवेदन दर्ता गराउनुपर्ने र नगरपालिकाले एकवर्ष राखेर सकेसम्म मेलमिलाप गराउथ्यो’, उनले भने ‘मेलमिलापकर्ताबाट एकवर्षसम्म पनि मेलमिलाप नभए मात्र सम्बन्ध विच्छेदका लागि अदालत जाने व्यवस्था थियो ।’

पुरुषहरु प्राय मुलुकी देवानी संहिताको परिच्छेद ३ सम्बन्ध बिच्छेद सम्बन्धी व्यवस्थाको दफा ९४ को (ग) लाई टेकेर सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएको अदालतले जनाएको छ ।