बालबालिकासँग प्रधानमन्त्री–म मूर्तिपुजक र व्यक्तिपुजक होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज, (मंगलबार) विद्यालय तहका विद्यार्थीहरूका साथ एक कार्यक्रममा सहभागी भए । ‘नयाँ वर्ष नयाँ पाइला, बालबालिकाका साथ प्रधानमन्त्री’ नाम दिइएको उक्त कार्यक्रममा प्रधानमन्त्रीसँग केही विद्यार्थीहरूले प्रश्न राखेका थिए । प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिए ।

कार्यक्रममा प्रधामन्त्री ओली पत्नी राधिका शाक्यका साथ सहभागी थिए । एक छात्र र एक छात्राले संयुक्तरूपमा सहजीकरण गर्दै कार्यक्रम अघि बढाएका थिए । उनीहरूले प्रधानमन्त्रीको बाल्यकाल र विद्यालय जीवनका बारेमा प्रश्न सोधे । प्रधानमन्त्री ओलीले आफू पूर्वी पहाडको तेह्रथुम जिल्लामा जन्मेको, त्यहीको स्कुलमा पढेको र आफू ‘सरदर’ विद्यार्थी रहेको बताए ।

 एक छात्रले दैनिक एक हजारदेखि १५ सयसम्म युवाहरू रोजगारीको खोजीमा खाडी मुलुक गइरहेको भन्दै यी युवाहरूलाई देशमै रोजगारी दिन र यसरी विदशिनबाट रोक्न सरकारसँग के कार्यक्रम छ भनी प्रश्न गरे ।

उक्त प्रश्नमा प्रधानमन्त्री ओलीले निकै लामो व्याख्यात्मक जवाफ दिए । देशमै रोजगारी सिर्जना गर्ने र जीवन खोज्दै सस्तो श्रमिकका रूपमा विदेशिनु पर्ने अवस्था अन्त्य गर्ने योजना आफूसँग रहेको बताए । उनले विदेशले मागेका विज्ञ र दक्ष व्यक्तिमात्रै जाने गरी शिक्षा र सिपको विकास गर्ने योजना रहेको पनि बताए ।

एक छात्राले निर्मला पन्तको बलात्कार र हत्याका दोषी पत्ता लगाउन नसकेको भन्दै हामी कसरी सुरक्षित रहने भन्ने प्रश्न गरिन् । जवाफमा प्रधानमन्त्रीले अनुसन्धानको परिणाममा आश्चर्य प्रकट गरे । बलात्कार र हत्या गरेको भनेर अपराध कबोल गरेको, साविती बयान दिएको व्यक्तिको डिएनए रिपोर्ट नमिलेको उनको आश्चर्य थियो । उक्त घटनालाई लिएर केही राजनीति दलले झण्डा उचालेको, छानविन गर्ने निकायले स्वतन्त्र ढंगले काम गर्न नपाएको, यसलाई समात, उसलाई नसमात, यसलाई किन समात्यौ इत्यादि भनेर अनुसन्धानमा व्यवधान सिर्जना गरेको प्रधानमन्त्रीले बताए ।

 उनले नेपाल प्रहरीले गरेका अनुसन्धान ९५ प्रतिशत सफल भएको भन्दै निर्मलाको घटनामा पनि प्रहरी सफल हुने विश्वास प्रकट गरे । उनले अनुसन्धानको सुरुमा केही प्रहरीले गल्ती गरेको पनि बताए ।

 अर्का एक विद्यार्थीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै सुधारका लागि के कार्यक्रम छ भन्ने प्रश्न गरेका थिए । उनले अंग्रेजी माध्यममा जोड दिँदा कतै नेपाली भाषा त संकटमा पर्दैन भन्ने जिज्ञासा पनि राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनमा धेरै कारणहरू रहेको भन्दै सुधार गर्दै जानुको विकल्प नरहेको बताए ।

अर्का एक विद्यार्थीले निःशुल्क शिक्षा भने पनि विद्यार्थीहरूले शिक्षका सबै अवसरहरू नपाएको भन्दै प्रश्न राखेका थिए ।

जवाफमा प्रधानमन्त्रीले सबैको आर्थिक हैसियत बढाउन आय आर्जनमा सरकारले जोड दिएको बताए ।

सहजर्ता मध्येका एकले ‘हजुरको खुसी के हो’ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले बालबालिकाको चेहरामा मुस्कान नै आफ्नो खुसी हो भने । अर्का सहजकार्ताले आफ्नो आदर्श कसलाई मान्नुहुन्छ भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले आफू मुर्तिपुजक र व्यक्तिपुजक होइन भन्दै कुनै एक व्यक्ति आफ्नो आदर्श नरहेको र मानवसमाजका लागि योगदान गर्ने सबै अग्रज पूर्वजप्रति आफू कृतज्ञ रहेको बताए ।

 प्रधानमन्त्री ओलीले करिव सावा घण्टामा १० वटा प्रश्नको जवाफ दिएका थिए । यी मध्ये चार वटा प्रश्न सहजकर्ता दुई विद्यार्थीले सोधको थिए भने बाँकी अन्य सहभागीले । राजधानी उपत्यकाका तीनै जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी कार्यक्रममा प्रज्ञाप्रतिष्ठानको सभाहल खचाखच भरिएको थिए ।