क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरमा अवैध रूपमा सञ्चालन भइरहेका व्यापार तथा व्यवसायविरुद्ध स्थानीय प्रशासनले कारबाही तीव्र बनाएको छ। क्वालालम्पुर महानगरपालिका (DBKL) लगायत सम्बन्धित अधिकारीहरूले विभिन्न पसल तथा व्यवसायमा अनुगमन गर्दै नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही अघि बढाएका हुन्।
मलेसियामा अनुमति नलिई व्यापार सञ्चालन गर्ने, व्यवसायसम्बन्धी नियम उल्लङ्घन गर्ने तथा बजार व्यवस्थापनका प्रावधान पालना नगर्ने व्यवसायीविरुद्ध सम्बन्धित निकायले अनुगमन र कारबाही गर्दै आएको छ। यस्तो कारबाहीले व्यापार सञ्चालनमा कानुनी मापदण्ड पालना गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।
विशेषगरी, बजार मूल्यभन्दा महँगोमा खाद्य सामग्री बिक्री गर्ने, उपभोक्तालाई अनुचित मूल्यमा सामान किन्न बाध्य पार्ने तथा व्यापारिक अनुमति र स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गतिविधिप्रति उपभोक्ताले गुनासो गर्दै आएका छन्। यस्ता विषयमा प्रभावकारी बजार अनुगमन र कानुनी कारबाही आवश्यक देखिन्छ।
कानुन सबैका लागि समान हुनुपर्ने भन्दै विदेशी तथा स्थानीय जुनसुकै व्यवसायीले व्यापार सञ्चालन गर्दा मलेसियाको प्रचलित कानुन, अनुमति प्रक्रिया र उपभोक्ता संरक्षणसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ। नियम उल्लङ्घन गर्ने व्यवसायमाथि निष्पक्ष रूपमा कारबाही हुनुपर्ने मागसमेत उठ्दै आएको छ।




















