क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम प्रमुख उदीयमान अर्थतन्त्रहरूसँगको आर्थिक साझेदारी र रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ चार दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली आइपुग्नुभएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आयोजना भइरहेको १८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलनमा मलेसिया ‘साझेदार राष्ट्र’ (Partner Country) को हैसियतमा सहभागी हुन लागेको हो। यो भ्रमणले विश्व बजारमा अमेरिकी डलरमाथिको निर्भरता कम गर्दै ग्लोबल साउथ (Global South) का राष्ट्रहरूबीच आन्तरिक व्यापार र डिजिटल अर्थतन्त्रको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री अनवरले आयोजक राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत ब्रिक्स समूहका शीर्ष नेताहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको छ।

राजनीतिक संवादका साथै उहाँले भारतका बुद्दिजीवी तथा स्थापित व्यावसायिक दिग्गजहरूसँग पनि लगानीका सम्भावनाहरूबारे छलफल गर्नुहुनेछ। मलेसियाको तर्फबाट उच्चस्तरीय मन्त्री तथा व्यापारिक प्रतिनिधिमण्डल सम्मिलित यो भ्रमणले दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई थप कसिलो बनाउँदै व्यापार र प्रविधिका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















