मलेसियामा अवैध गलत बाटो प्रयोग गरि प्रवेश गर्नेलाई जेल र कोर्रा हान्ने सजाय।

मिरी (मलेसिया):= मलेसियाको सारावाकस्थित “मिरी सेसन” अदालतले गैरकानुनी रूपमा देश प्रवेश गरेको आरोपमा २४ वर्षीय एक इन्डोनेसियाली नागरिकलाई ६ महिना जेल र एक कोर्रा हान्ने सजाय सुनाएको छ।

अदालतमा अभियोग स्वीकार गरेपछि उनलाई मलेसियाको अध्यागमन ऐन १९५९/६३ को धारा ६(१) बमोजिम दोषी ठहर गरिएको हो। ती नागरिक वैध राहदानी तथा प्रवेश अनुमति (भिसा) बिना मलेसिया प्रवेश गरेको अभियोगमा पक्राउ परेका थिए।

अदालतले तोकेको जेल सजाय पूरा भएपछि उनलाई मलेसियाली अध्यागमन विभागमार्फत इन्डोनेसिया फिर्ता पठाइने जनाएको छ। मलेसियाले पछिल्लो समय अवैध रूपमा प्रवेश गर्ने तथा अनुमति अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने विदेशी नागरिकमाथि कानुनी कारबाहीलाई कडाइ गर्दै आएको छ।

मलेसियाको अध्यागमन कानुनअनुसार वैध अनुमति बिना देश प्रवेश गर्ने व्यक्तिलाई अधिकतम १० हजार रिंगिटसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय, साथै छ पटकसम्म कोर्रा हान्न सकिने व्यवस्था रहेको छ।

मिरीमा भएको यो पछिल्लो फैसलाले मलेसियामा रोजगारी वा अन्य उद्देश्यले आवश्यक कागजातबिना प्रवेश गर्ने विदेशी नागरिकले गम्भीर कानुनी परिणाम भोग्नुपर्ने स्पष्ट संकेत दिएको छ। त्यसैले मलेसिया प्रवेश गर्दा वैध राहदानी, भिसा तथा आवश्यक प्रवेश अनुमति अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने देखिन्छ।