क्वालालम्पुर (मलेसिया):= चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकले आर्थिक सहयोग गरेका छन्।
मलेसियामा विगत नौ वर्षदेखि सुरक्षा गार्डको रूपमा कार्यरत गुल्मीको कालीगण्डकी गाउँपालिका–३, जयखानी निवासी मानबहादुर क्षेत्री (मनोज क्षेत्री)ले बाढीपहिरो पीडित नेपाली नागरिकको सहयोगका लागि रु. ५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै ट्रान्सफर गरी सहयोग गरेका हुन्।
क्षेत्री हाल मलेसियाको केलाङ कापर क्षेत्रमा सुरक्षा गार्डका रूपमा कार्यरत छन्। लामो समयदेखि वैदेशिक रोजगारीमा रहे पनि मातृभूमिमा परेको विपत्तिमा आफ्नो तर्फबाट केही सहयोग गर्नुपर्छ भन्ने भावनासहित उनले उक्त रकम प्रदान गरेका हुन्।
उनले भने, “हामी सुरक्षागार्डमै कार्यरत रहे पनि प्रवासको ठाउँबाट नेपाललाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले आफ्नो तर्फबाट सहयोग गरेको हुँ। विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हाम्रो सानो सहयोगले पनि केही राहत मिलोस् भन्ने चाहना हो।”
बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासमा रहेका नेपाली श्रमिकहरूले आफ्नो आम्दानीबाट समेत पीडितका लागि सहयोग जुटाउदै सहयोग गर्न थालेका छन्। क्षेत्रीको यो सहयोगले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको भावनालाई समेत प्रतिबिम्बित गरेको छ।




















