अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १७ जना नेपालीसहित १०८ जना विदेशीहरू पक्राउ

क्वालालम्पुर (मलेसिया):= मलेसियाको जोहोर बारुमा अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १७ जना नेपाली नागरिकसहित कुल १०८ जना विदेशी नागरिकहरू पक्राउ परेका छन्। जोहोर राज्यको अध्यागमन विभागले तामान श्री बहागिया क्षेत्रमा रहेका विभिन्न व्यापारिक प्रतिष्ठान, भोजनालय र मोबाइल पसलहरूमा चलाएको विशेष छापा मारी अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा १०१ जना पुरुष र ७ जना महिला रहेका छन्, जसको उमेर १८ देखि ४९ वर्ष बीच रहेको जनाइएको छ।

अध्यागमन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिकहरूले मलेसियाको भ्रमण भिसा (Social Visit Pass) वा कार्य अनुमति पत्र (वर्क परमिट) को दुरुपयोग गरी अवैध रूपमा व्यवसाय सञ्चालन गरिरहेको वा काम गरिरहेको पाइएको थियो। उनीहरूको साथमा वैध कागजात नभएको, मलेसियामा बस्ने अवधि समाप्त भइसकेको (ओभरस्टे) र भिसाको सर्त विपरित श्रम गरिरहेको भेटिएपछि नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो। पक्राउ पर्नेमा सबैभन्दा धेरै ३२ जना बंगलादेशी, २५ जना म्यानमारका, १६ जना पाकिस्तानी, १४ जना इन्डोनेसियाली र ४ जना भारतीय नागरिक पनि छन्।

नियन्त्रणमा लिइएका सबै विदेशी नागरिकहरूलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि सेतिया ट्रोपिका अध्यागमन डिपोमा राखिएको छ। उनीहरूमाथि मलेसियाको अध्यागमन ऐन १९५९/६३ र अध्यागमन नियमावली १९६३ अन्तर्गतका विभिन्न धाराहरू आकर्षित हुने र दोषी पाइएमा मलेसियाको कानुन बमोजिम जरिवाना, कैद वा देश निकाला सम्मको सजाय हुन सक्ने स्थानीय प्रशासनले जनाएको छ।