क्वालालम्पुर:= मलेसियामा Social Visit Pass (भिजिट/पर्यटक भिसा) को दुरुपयोग गर्दै अवैध रूपमा रोजगारी तथा आयमूलक गतिविधिमा संलग्न हुने विदेशी नागरिकहरूको संख्या बढ्दो क्रममा रहेको पाइएको छ।
पछिल्ला दिनहरूमा मलेसियाको अध्यागमन विभागले सञ्चालन गरेको विशेष अनुगमन तथा छापामार कारबाहीका क्रममा सयौँ विदेशी नागरिक विशेषगरि थाइल्यान्डको बोर्डरबाट पर्यटक भिसामा प्रवेश गरी विभिन्न क्षेत्रमा अनुमतिबिना काम गरिरहेको अवस्थामा पक्राउ परेका छन्।
अध्यागमन विभागका अनुसार केही विदेशी नागरिकहरू भ्रमणको उद्देश्य देखाएर मलेसिया प्रवेश गर्ने र त्यसपछि स्थानीय एजेन्ट वा रोजगारदाताको प्रलोभनमा निर्माण, रेस्टुरेन्ट, व्यापारिक प्रतिष्ठान तथा उत्पादनमूलक उद्योगहरूमा अवैध रूपमा काम गर्ने गरेको भेटिएको छ। यसरी भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि विभागले शंकास्पद कार्यस्थल, आवास तथा व्यवसायिक क्षेत्रमा आकस्मिक अनुगमन र छापामार कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ।
मलेसियाको अध्यागमन कानुनअनुसार Social Visit Pass (भिजिट/टुरिस्ट भिसा) मा कुनै पनि प्रकारको रोजगारी वा आयमूलक गतिविधिमा संलग्न हुनु पूर्ण रूपमा गैरकानुनी हो। यस्तो कसुरमा पक्राउ परेमा जरिवाना, जेल सजाय, देश निकाला (Deportation) तथा भविष्यमा मलेसिया प्रवेशमा प्रतिबन्ध (Blacklist) समेत लाग्न सक्ने कानुनी व्यवस्था रहेको छ।
यसैबीच, मलेसियास्थित नेपाली दूतावासले पनि नेपाली नागरिकलाई आकर्षक कमाइको प्रलोभनमा परेर भिजिट भिसामा मलेसिया नआउन आग्रह गर्दै आएको छ। वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा वैधानिक रोजगार भिसा (Work Permit) प्राप्त गरी मात्र मलेसिया आउन र यहाँको अध्यागमन कानुनको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।
मलाया खबर मिडिया मलेसियामा रहनुभएका तथा मलेसिया आउने तयारीमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भिजिट भिसाको दुरुपयोग नगर्न, कानुनी प्रक्रियाअनुसार मात्र रोजगारीमा संलग्न हुन तथा कुनै पनि अवैध गतिविधिबाट टाढा रहन हार्दिक अनुरोध गर्दछ।


















