क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरस्थित जालान चेरास क्षेत्रको एक तीनतारे होटलमा विदेशी महिलामार्फत सञ्चालन भइरहेको देहव्यापार गतिविधिको खुलासा भएको छ। मलेसियाको अध्यागमन विभाग (JIM) क्वालालम्पुरले प्राप्त सूचना र गुप्तचरीका आधारमा शनिबार बिहान करिब १:०५ बजे होटलमा छापा मारेको थियो।
छापाका क्रममा केही विदेशी महिला तोकिएका कोठामा ग्राहकसँग रहेको अवस्थामा फेला परेको बताइएको छ। होटलको एउटा कोठा ग्राहक पर्खिने महिलाहरूको विश्रामस्थलका रूपमा प्रयोग गरिएको आशंका गरिएको छ।प्रारम्भिक जानकारीअनुसार उक्त सेवा सामाजिक सञ्जाल एपमार्फत प्रचार गरिएको थियो। ग्राहकबाट RM २०० देखि RM २३० सम्म शुल्क लिइने र एक स्थानीय पुरुषले ‘क्याप्टेन’को भूमिका निर्वाह गर्दै व्यवस्थापन गर्ने गरेको आशंका छ।

कारबाहीका क्रममा अध्यागमन विभागले ६ महिला र दुई पुरुष गरी आठ जनालाई पक्राउ गरेको क्वालालम्पुर अध्यागमन निर्देशक हम्शा इन्जाउले जानकारी दिएका छन्।पक्राउ परेका महिलामध्ये पाँच जना इन्डोनेसियाली र एक जना थाई नागरिक रहेका छन्। पक्राउ परेका दुई पुरुषमध्ये एक जना कथित ‘क्याप्टेन’को भूमिका निर्वाह गर्ने स्थानीय नागरिक हुन् भने अर्का होटलमा कार्यरत नेपाली नागरिक रहेको जनाइएको छ।

होटलका कोठाहरूमा गरिएको जाँचका क्रममा देहव्यापार गतिविधिमा प्रयोग भएको आशंका गरिएका कन्डमसमेत फेला परेको अधिकारीहरूले बताएका छन्। विदेशी नागरिकहरूमाथि भिसाको अवधि सकिएपछि पनि मलेसियामा बसेको तथा पासको दुरुपयोग गरेको लगायतका अध्यागमनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अध्यागमन विभाग क्वालालम्पुरले अध्यागमन कानुन उल्लङ्घन गर्ने कुनै पनि व्यक्ति वा पक्षविरुद्ध बिना सम्झौता कारबाही जारी राख्ने स्पष्ट पारेको छ।




















