ब्राजिल := अबको चार दिन पछि सुरु हुने फिफा विश्वकपको चर्चा विश्वभर चुलिएको छ । विश्वभरका फुटबल समर्थकहरुले आ–आफ्नो टोलीलाई समर्थन गर्न थालिसकेका छन् । आज हामी विश्वकप फुटबलको हराएकाे ट्रफीबारे केही राेचक तथ्य बताउँदै छाैं ।
इतिहाससँग जोडिएको प्रतिष्ठित जुल्स रिमे ट्रफीको आधार प्लेट अहिले स्विट्जरल्याण्डको ज्युरिखस्थित फिफा संग्रहालयमा सुरक्षित रूपमा प्रदर्शनमा राखिएको छ। सन् २०१५ मा फिफाका एक कर्मचारीले संग्रहालयको बेसमेन्टमा खोजतलास गर्ने क्रममा यो ऐतिहासिक आधार प्लेट फेला पारेका थिए ।
सन् १९५० पछि प्रयोग नगरिएको यो प्लेटलाई फिफाले अहिले अमूल्य ऐतिहासिक धरोहरका रूपमा संरक्षण गरिरहेको छ । यो ट्रफीको कथा निकै रोचक र उतारचढावपूर्ण छ । सन् १९३८ मा इटालीले फ्रान्समा भएको विश्वकप जित्दै लगातार दोस्रो पटक उपाधि रक्षा गरेको थियो । त्यसपछि नियमअनुसार ट्रफी इटालीमै राखिएको थियो र रोमस्थित बैंकको सेफ भल्टमा सुरक्षित थियो ।

तर सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएपछि ट्रफीको सुरक्षाबारे चिन्ता बढ्यो । सन् १९४३ मा इटालीका फासिस्ट नेता बेनिटो मुसोलिनीको पतनपछि जर्मन आक्रमणको डरबीच इटालियन फुटबल संघका तत्कालीन अध्यक्ष ओटोरिनो बारासीले ट्रफीलाई चोरी हुनबाट बचाउन आफ्नो घरमै जुत्ताको बाकसमा लुकाएको विश्वास गरिन्छ । पछि त्यसलाई फोगिया शहरका आफन्तमार्फत काठको तेल राख्ने ड्रमभित्र समेत लुकाइएको थियो ।
सन् १९५० मा विश्वकप पुनः सुरु भएपछि ट्रफी फिफालाई फिर्ता गरिएको थियो । तर त्यसपछि पनि यसको इतिहास विवाद र घटनाले भरिएको छ । सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकप अघि ट्रफी चोरी भए पनि पछि ‘पिकल्स’ नामक कुकुरले फेला पारेको घटना विश्वप्रसिद्ध छ ।
त्यस्तै, सन् १९८३ मा ब्राजिलियन फुटबल संघको कार्यालयबाट ट्रफी चोरी भयो र त्यो कहिल्यै फेला परेन । अनुमानअनुसार मूल ट्रफीलाई पछि पगालिएको हुन सक्छ ।अहिले फिफा संग्रहालयमा रहेको आधार प्लेटमा केवल दुई राष्ट्रका नाम अंकित छन्-उरुग्वे (१९३८ र १९५०) र इटाली (१९३४ र १९३८) । फिफाले यसलाई फुटबल इतिहासको अत्यन्तै महत्वपूर्ण सम्पदा भन्दै संरक्षण गरिरहेको छ ।




















