क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुर (KL) विश्वमै सबैभन्दा धेरै गगनचुम्बी तथा प्रविधिमैत्री भवनहरू भएको सहरहरूको सूचीमा चौथो स्थानमा पर्न सफल भएको छ। तीव्र सहरीकरण, आधुनिक पूर्वाधार निर्माण र प्रविधिमुखी विकासका कारण कुआलालम्पुरले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।
मलेसियाका आवास तथा स्थानीय सरकार मन्त्री न्गा कोर मिङका अनुसार हाल कुआलालम्पुरमा ४९४ भन्दा बढी गगनचुम्बी तथा अत्याधुनिक अग्ला भवनहरू रहेका छन्। यसले कुआलालम्पुरलाई विश्वकै प्रमुख आर्थिक, व्यावसायिक तथा लगानी केन्द्रमध्ये एकका रूपमा स्थापित गरेको छ।
विश्वप्रसिद्ध पेट्रोनास ट्विन टावर्स, मेर्देका ११८, केएल टावर लगायतका आधुनिक संरचनाहरूले कुआलालम्पुरको अन्तर्राष्ट्रिय पहिचानलाई अझ बलियो बनाएका छन्। पछिल्ला वर्षहरूमा निर्माण भएका नयाँ गगनचुम्बी भवनहरूले सहरको आकाशरेखा (Skyline) लाई थप आकर्षक र आधुनिक बनाएका छन्।
अर्कोतर्फ, कुआलालम्पुर Smart City Index मा पनि उल्लेखनीय प्रगति गर्दै विश्वका उत्कृष्ट स्मार्ट सहरहरूको सूचीमा ६५औं स्थानमा पुगेको छ। डिजिटल सेवा विस्तार, स्मार्ट यातायात प्रणाली, दिगो विकास, हरित प्रविधि तथा नागरिकमैत्री सेवाहरूका आधारमा यो उपलब्धि हासिल भएको हो।
मन्त्री मिङले सरकारले आगामी वर्षहरूमा कुआलालम्पुरलाई विश्वका शीर्ष ५० स्मार्ट सहरहरू भित्र पुर्याउने लक्ष्यसहित विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिएका छन्।
कुआलालम्पुरको तीव्र विकासले मलेसियाको आर्थिक उन्नति, विदेशी लगानी आकर्षण तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आधुनिक भवन, अत्याधुनिक प्रविधि र दिगो शहरी विकासको संयोजनले कुआलालम्पुरलाई भविष्यको विश्वस्तरीय महानगरका रूपमा स्थापित गरिरहेको छ।




















