मलेसियामा सुरक्षा गार्ड हत्या गर्ने पूर्व कलेज लेक्चररलाई ३० वर्ष जेल सजाय।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पुनरावेदन अदालतले सुरक्षा गार्डको हत्या तथा बैंक डकैतीका घटनामा दोषी ठहरिएका एक भूतपूर्व कलेज लेक्चररलाई सुनाइएको ३० वर्षको जेल सजायलाई सदर गरेको छ।

४२ वर्षीय छाई कोङ वी (Chai Kong Wee) ले ११ मार्च २०२२ मा सेलाङ्गोर राज्यको पुचोङस्थित एक बैंकमा २१ वर्षीय सुरक्षा गार्डको गोली हानी हत्या गरेका थिए। उनले उक्त घटनामा बैंक डकैतीको प्रयास समेत गरेका थिए।

त्यसअघि उनले ३ सेप्टेम्बर २०२० मा सुबाङ जैयास्थित अर्को बैंकमा डकैती गर्ने क्रममा छततर्फ गोली चलाएको अभियोग पनि लागेको थियो। दोषी छाईले गत वर्ष अगस्ट ६ मा उच्च अदालतमा आफ्ना अपराध स्वीकार गरेका थिए।

त्यसपछि सरकारी वकिलले सजाय कम भएको दाबी गर्दै मृत्युदण्ड वा कम्तीमा ४० वर्ष जेल सजायको मागसहित पुनरावेदन गरेका थिए। साथै सजायहरू क्रमिक रूपमा लागू गर्नुपर्ने माग पनि गरिएको थियो।

तर न्यायाधीश नुरिन बदरुद्दिन (Noorin Badaruddin) को अध्यक्षतामा रहेको तीन सदस्यीय पुनरावेदन इजलासले सरकारी पक्षको माग अस्वीकार गर्दै उच्च अदालतले सुनाएको ३० वर्षको कारावास सजायलाई नै अन्तिम फैसला रूपमा कायम राखेको हो। एजेन्सी