क्वालालम्पुर := करिब ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको देश हो मलेसिया। यहाँ विदेशीले नेपालीलाई विभिन्न बहानामा ठगी गर्ने गरेको घटना बेला बखत सुन्ने गरेका छौँ। तर यहीँ मलेसियामा नेपालीले नै नेपालीलाई ठगी गरेको घटना पनि बारम्बार बाहिर आउने गरेको छ ।
वर्षौँपछि मलेसिया रोजगारी सकिएर घर फर्कन पाउने खुसीले किनमेल गरेर ब्यागप्याक गरी मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीहरू एउटा ट्राभल एजेन्सीको लापरवाहीले गर्दा नक्कली टिकटका कारण १२ जनाभन्दा बढी नेपालीहरू रातभर विमानस्थलको चिसो भुइँमा बस्न बाध्य भएको घटना बाहिरिएको छ।
“मलाया खबर”लाई एक सूत्रले दिएको जानकारी अनुसार ‘एयरबोन ट्राभल्स’ नाम गरेको ट्राभल एजेन्सी कम्पनीले मलेसियाबाट नेपाल फर्किन लागेका नेपालीहरूको लागि टिकट काटिदिने काम गर्दो रहेछ। तर यो कम्पनीले काटेका टिकटहरू लिएर नेपालीहरू जब एयरपोर्टमा पुग्छन्, तब त्यो टिकट नै नक्कली भएको जानकारी उनीहरूले पाउने रहेछन्। जसको पहिलो शिकार बने, बिमलेश मण्डल र राजवंशी राऊत कुर्मी।
एउटै कम्पनीमा काम गर्ने दुवै जनाले कम्पनीसँग दुई महिनाको छुट्टी लिएर २४ अप्रिल २०२६ मा मलेशियाबाट नेपाल जाने र २३ जुन २०२६ मा काठमाडौँबाट फेरि मलेशिया फर्किने भनेर २ हजार ८ सय रिंगिट अर्थात् नेपाली रु.१ लाख ७ हजार रूपैयाँ तिरेर दुई वटा अप एन्ड डाउनको टिकट किनेका रहेछन्। तर जब उनीहरू एयरपोर्ट पुगे तब बल्ल थाहा पाए कि उक्त टिकट त नक्कली पो रहेछ भन्ने। त्यसपछि उनीहरूले ट्राभल कम्पनीलाई सम्पर्क गर्दा आफूहरूबाट गल्ती भएको र तुरुन्तै अर्को फ्लाइटमा पठाइदिन्छु भनेर भनेका रहेछन्। तर त्यसपछि अर्कोपटक फोन गर्दा फोन नै लाग्न छाडेपछि उनीहरू बाध्य भएर आफ्नै पैसाले अर्को टिकट काटेर नेपाल आएका रहेछन्।

यस्तै यो ट्राभल एजेन्सीको फन्दामा परेका अर्का व्यक्तिहरू हुन् इन्द्रबहादुर राना, वीरेन्द्रकुमार यादव, रूपनारायण कुर्मी र दिलबहादुर बुढा। एउटै कम्पनीमा काम गर्ने यी चारै जनाले यही ट्राभलबाट गत १७ तारिख चारवटा टिकट काटेका रहेछन्। उनीहरूको टिकट मे १ तारिख मलेशियाबाट काठमाडौँ आउने र जुन ३० मा काठमाडौँबाट मलेशिया फर्कने रहेछन्। तर एयरपोर्ट पुगेपछि टिकट नै नक्कली रहेको थाहा पाएपछि बाध्य भएर उनीहरू पनि आफैँले टिकट काटेर चारै जना काठमाडौँ आएका छन्।
उनीहरूले ट्राभल कम्पनीलाई प्रतिव्यक्ति १३ सय चालिस रिंगिट अर्थात् जम्मा ५ हजार ३ सय ६० रिंगिट (नेपाली लगभग २ लाख ५ हजार रूपैयाँ) बुझाएका छन्।

यस्तै यही कम्पनीको अर्को शिकार बनेका छन् किशोर राना, प्रेमाहादुर खत्री र कृष्ण थारू। एउटै कम्पनीमा काम गर्ने यी तीनै जनाले १७ अक्टोबर २०२६ को दिन काठमाडौँ जाने र १४ डिसेम्बर २०२६ मा काठमाडौँबाट फर्कने गरी गत अप्रिलमा ४ हजार २० रिंगिट अर्थात् नेपाली एक लाख त्रिपन्न हजार रूपैयाँ तिरेर एयरबोन ट्राभलको अफिसमै गएर टिकट काटेका रहेछन्। पछि कम्पनीमा यी ट्राभलबाट अरू साथीहरू ठगिएको थाहा पाएपछि उनीहरूले पनि आफ्नो टिकट भेरिफाई गर्न लगाउँदा यो पनि सबै फेक रहेको खुल्न आएको रहेछ।
यस्तै यही ट्राभलको ठगीमा परेका अर्का पीडित हुन् दिलीपकुमार कुशवाहा। उनले यही मे २५ तारिखमा मलेसियाबाट काठमाडौँ आउने र जुलाई छब्बीसमा पुनः मलेसिया फर्कने गरी गत मार्च २३ तारिख १६ सय ५० रिंगिट अर्थात् नेपाली रु.६३ हजार तिरेर टिकट काटेका रहेछन्। तर यिनको पनि उही हालत। अहिले आएर भेरिफाई गराउँदा यो पनि फेक निस्केको उनी बताउँछन्।

यस्तै, यही ट्राभलको ठगीमा परेका अर्का व्यक्ति हुन् अनिलकुमार महतो। उनले गत चौबीस मार्चमा १३ सय रिंगिट तिरेर एउटा टिकट काटेका रहेछन्। उनको टिकटअनुसार आउने अक्टोबर २०२६ मा मलेसियाबाट काठमाडौँ आउने र डिसेम्बर २७ मा काठमाडौँबाट मलेसिया फर्किने मिति तोकिएको छ। तर उनले पनि आफ्नो टिकट भेरिफाई गराउन जाँदा नक्कली रहेको खुल्न आएको उनै बताउँछन्। यस्तै, यही ट्राभलको शिकारमा परेका अर्का व्यक्ति हुन् धनबहादुर रोक्का। उनले पनि यही मे १ तारिखमा मलेसियाबाट काठमाडौँ आउने र जुन ३० मा फर्कने गरी १३ सय २० रिंगिट तिरेर टिकट काटेका रहेछन्। तर उनको पनि अन्ततः अरूको जस्तै नक्कली निस्क्यो।
अहिले सबै पीडितहरूको एउटै भनाइ छ कि हामी ठगियौँ। ठगिएको थाहा पाएपछि पैसा फिर्ता माग्न जाँदा अफिस बन्द छ। फोन गरे फोन लाग्दैन। लागिरहे पनि पैसा फिर्ता गर्दिन्छौँ, गर्दिन्छौँ भन्छ तर दिने छाँटकाँट छैन। यता यसबारे ट्राभल एजेन्सी कम्पनीसंग बुझ्न सोध्दा , आफ्नो ट्राभल एजेन्सीले कसैलाई पनि ठगी नगरेको , र केहि नेपालीको टिकटमा समस्या देखिएकोले पैसा फिर्ता गरिसकेको र कसै कसैको टिकट पनि पुनः रि:चेक गरेर सक्कली टिकट नै दिइएको बताए ।
र अन्त्यमा तपाईं पनि मलेसियाबाट नेपाल घर आउने सोचमा हुनुहुन्छ भने होसियार ! किनकि यस्तै ठगीको शिकार बन्नुहोला। त्यसैले बेलामै विचार गरेर पैसा तिर्नुअगाडि त्यस्ता ट्राभल एजेन्सीको बारेमा राम्रोसँग बुझ्नुहोला, अनि मात्रै टिकट खरिद गर्नुहोला ।
समाचार प्रस्तुति : रोशन क्ष्रेष्ठ




















