काठमाडौं := देश बाहिर रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनीहरु कसरी पक्राउ पर्छन् भन्ने चासो बढेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा दम्पतीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिए पछि पक्राउ अनुमति मागेको थियो।तर, हाल देउवा दम्पती स्वदेशमा छैनन् । २१ फागुनको चुनावअगावै देउवा उपचारका लागि भन्दै सिंगापुर गएका छन्।
उनीबारे सचिवालयले यसअघि चाँडै नेपाल आउने सूचना पनि जारी गरिएको थियो । अर्थात्, २९ फागुनभित्र नेपाल आउने भनिएपछि देउवा नेपाल फर्किएनन् । बरु पत्नी राणा पनि उतै गइन् । किनकि देउवा सिंगापुर हुँदा राणा भारतमा थिइन् । चुनावका बेला देउवा सिंगापुर गइदिएका कारण पनि कांग्रेसको केही ‘भोट/सिट’ घटेको नेताहरूले बताउँदै आएका थिए ।
कहाँ छन् देउवा दम्पती ?
पाँचपटक नेपालको प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा तथा पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा हाल हङकङमा रहेको बताइएको छ । उनीहरु यसअघि सिंगापुरमा उपचारका लागि भन्दै पुगेका थिए । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन हुँदा राणा परराष्ट्रमन्त्री थिइन् । भदौ २३ गते प्रहरीको गोली लागेर संसद् भवन अगाडि पुगेका १९ जना प्रदर्शनकारी मारिएपछि भने नेपाली राजनीतिको कोर्स फेरिएको हो ।
भदौ २३ गतेको प्रहरीको दमनपछि भदौ २४ मा देशभर हिंसात्मक प्रदर्शन भयो । २४ गतेको प्रदर्शनपछि केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढलेन देशका महत्वपूर्ण कार्यालहरुमाथि नै आगजनी भए । बूढानीलकण्ठस्थित देउवा निवास र अन्य पूर्वप्रधानमन्त्रीहरुका घर नै जलेका थिए। देउवाको घर आगजनी हुँदा घरभित्र जलेका पैसाहरुसमेत भेटिएका थिए । देउवा दम्पती नै मुस्किलले जोगिएका थिए । सैनिक ब्यारेकमा रहेर उनीहरुको लामो उपचार भएको थियो ।
उनीहरुको निवासमा रकम भेटिएपछि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्नुपर्ने माग त्यसबेला नै उठेको थियो ।तर, जेनजी प्रदर्शनपछि चुनाबी म्यान्डेटका लागि बनेको पूर्वप्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले भने अनुसन्धान अघि बढाएन । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक्लै करिब दुई तिहाइ बहुमत ल्याएपछि बनेको सरकारले भने अनुसन्धान अघि बढाएको हो ।
प्रधानमन्त्री शाह रास्वपाकै वरिष्ठ नेता हुन् । चुनाव हुनु एक साताअघि फागुन १४ गते देउवा उपचारका लागि एक्लै सिंगापुर उडेका थिए । आरजु राणा भने त्यसअघि नै भारतमा थिइन् । तर, राणा पनि भारत हुँदै सिंगापुर पुगेका हुन् । हाल भने उनीहरु सिंगापुर हुँदै हङकङ पुगेको बताइएको छ ।त्यसअघि कात्तिक १० मा पनि देउवा दम्पती उपचारका लागि सिंगापुर गएका थिए । उनीहरु त्यसबेला १८ दिनको उपचारपछि फिर्ता भएका थिए ।
उपस्थित नभए इन्टरपोलमार्फत् हुन सक्छ पक्राउ
हङकङमा रहेका देउवा दम्पती पक्राउ पुर्जी जारी भएको सूचना पछि आफैँ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित हुन सक्छन् । पक्राउ पुर्जी नै जारी भएपछि भने उनीहरु नेपाल फर्किदा विमानस्थलबाट नै प्रहरीले पक्राउ गर्न सक्छ । तर, प्रहरीले आफैँ थुनेर अनुसन्धान गर्न भने मिल्दैन । उनीहरुलाई सिधै विभागको कार्यालय बुझाउनु पर्ने हुन्छ ।
अब उनीहरु नेपाल नै नफर्किए के हुन्छ ?
यस्तो अवस्थामा भने नेपाल प्रहरी र विभागले उनीहरु पहिलो चरणमा देउवा दम्पतीको पासपोर्ट रोक्का गर्नुपर्ने हुन्छ । पासपोर्ट रोक्का गरिएपछि भने उनीहरुको सम्पूर्ण विदेश भ्रमण अवैध हुन्छ । प्रहरीले त्यसपछि उनीहरुलाई नेपाल फर्काउन प्रहरीको अन्तराष्ट्रिय अपराध नियन्त्रण संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी गराउँछ ।
इन्टरपोटले डिफ्युजन नोटिस जारी गरेपछि भने इन्टरपोलका सदस्य राष्ट्रहरुले नोटिस जारी भएका व्यक्तिको अपराधको गाम्भीर्यतालाई हेरेर सम्बन्धित देश फिर्ता गर्ने वा उनीहरु बारेको विवरण दिन सक्छ । हाल हङकङसहित इन्टरपोटलमा १९६ राष्ट्र छन् । तर, त्यसका लागि सरकारको कूटनीतिक पहलसमेत गर्नुपर्ने हुन सक्छ ।
इन्टरपोटले डिफ्युजन नोटिस जारी गरेर पनि देउवा दम्पती देश फिर्ता भएनन् भने प्रहरीले उनीहरुविरुद्ध अर्को ‘रेड नोटिस’ जारीको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । इन्टरपोलले जारी गर्ने ‘रेड नोटिस’ नै अन्तिम नोटिस हो ।
रेड नोटिस जारी भएपछि भने सदस्य राष्ट्रका प्रहरीले नै पक्राउ गरेर नेपाल फर्काउन समेत सक्नेछन् ।
आत्मसमर्पण, वा यस्तै कानुनी कारबाहीको लागि विचाराधीन व्यक्तिलाई पत्ता लगाउन र अस्थायी रूपमा पक्राउ रेड नोटिस जारी गरिँदै आएको छ । सुपुर्दगीका लागि भने सम्बन्धित देशका प्रहरी र नेपाल प्रहरी तथा दुई देशबीचको कूटनीतिक सम्बन्धले ठूलो भूमिका खेल्ने गर्छ ।



















