संविधान हातमा, पृष्ठभूमिमा हिन्दी रोमान्टिक गीत, विवादित भएपछि “ए-आई”लाई दोष।

काठमाडौं := पछिल्लो समय स्टन्ट क्वीनको आरोप खेपिरहेकी रास्वपा सांसद आशिका तामाङ अन्ततः आफ्नै सफेद झुटको पासोमा परेकी छन्। टिकटक भाइरल भएर चर्को आलोचना खेपेपछि उनले संसद् भवनमै सञ्चारकर्मीसामु उक्त भिडियो एआईले बनाएको भन्दै पन्छिने प्रयास गरिन्। तर, प्रविधिले उनको झुटको पर्दाफास गरिदिएको छ। हाइभ मोडरेसन र गुगलको परीक्षणमा यो भिडियो शतप्रतिशत सक्कली रहेको र एआईको प्रयोग शून्य प्रतिशत भएको पुष्टि भएको छ।

सञ्चारकर्मीले ‘संविधान लिएर हिन्दी गीतमा किन टिकटक बनाउनुभएको… ?’ भनी सोधेको प्रश्नको उत्तर दिँदै उनले बीचमै भनिन्, “त्यो टिकटक एआईले बनाएको हो ।”        केही दिनअघि सार्वजनिक भएको उक्त भिडिओमा सांसद तामाङले ‘नेपालको संविधान’ हातमा लिएकी थिइन् । भिडिओको पृष्ठभूमिमा ‘तुम्हारा साथ मिला है, जरा मेरे दिल को संभालूँ…’ बोलको हिन्दी रोमान्टिक गीत बजिरहेको हुन्छ । उक्त गीतको शब्दसँग मेल खाने गरी उनले हाउभाउ र ‘लिप सिंक’ (ओठ चलाउने काम) पनि गरेकी थिइन् ।

उक्त भिडिओ सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भयो । जिम्मेवार पदमा बसेको व्यक्तिले संविधान जस्तो गरिमामय दस्ताबेजलाई मनोरञ्जन र ‘शो-अप’को साधन बनाएको भन्दै सर्वसाधारणले आपत्ति जनाएका थिए । चर्को विरोधपछि उनले आफ्नो अकाउन्टबाट भिडिओ त हटाइन्, तर त्यतिबेलासम्म यो सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा फैलिसकेको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको यो क्रियाकलापलाई ‘पदीय मर्यादा विपरीत’ र ‘संविधानको अपमान’को संज्ञा दिएका छन् । गल्ती स्विकार्नुको साटो प्रविधिलाई दोष दिएर उम्किन खोज्ने सांसदको यो व्यवहारले पदीय मर्यादामाथि नै गम्भीर प्रश्न उठाएको छ । धेरैले त आशिकालाई पार्टीले यस्ता गतिविधीमा लगाम लगाउनुपर्ने बताइरहेका छन् ।