काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका श्रम तथा रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवंम सुरक्षित बनाउन तत्काल कार्ययोजना बनाई कायान्वयन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद्को चैत १३ गते बसेको बैठकले स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमाथि छलफल गरी मन्त्री साहले श्रमसँग सम्बन्धित विषय कार्ययोजना तयार गर्न निर्देशन दिनुभएको हो । श्रम स्वीकृतिमा रहेको ‘टोकन’ प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन भएअनुसार मन्त्रालयले आजैदेखि कार्य सुरु गरेको छ ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन तथा श्रमिकको हकहित संरक्षण गर्न मन्त्रालयसँग सम्बन्धित कार्यसूचीमा तत्काल कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
त्यस्तै, पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामग्री निर्माण गरी ‘डिजिटल’ माध्यममा उपलब्ध हुने व्यवस्था गर्न, पूर्व प्रस्थान अभिमुखीकरण तालिम (प्रि डिपार्चर ओरेन्टेसन ट्रेनिङ, पिडिओटी) लाई पूर्ण रुपमा अनलाइन प्रणालीमा आधारित बनाउन, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्न अभियान सञ्चालन गर्न तथा श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्न मन्त्री साहले निर्देशन दिनुभएको हो ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, स्वास्थ्य अवस्था तथा कार्य वातावरणको अध्ययन गरी वैदेशिक रोजगारीका न्यूनतम मापदण्ड तयार गरिनेछ।
साथै, सीप विकास तालिममार्फत रोजगारीका अवसर सिर्जना गर्ने, सबै प्रदेशमा निजी क्षेत्रसँग सहकार्य गरी सीप मेला सञ्चालन गर्ने र आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।




















