चलचित्र ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ दर्शकमाझ लोकप्रिय (भिडियो सहित)

काठमाडौं := आगामी नयाँवर्ष २०८३ को वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ दर्शकमाझ लोकप्रिय बनेको छ । गत फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई युट्युबमा करिब १४ लाख दर्शकले अवलोकन गरिसकेका छन् ।

गीत लोकप्रिय भएसँगै टिकटक र फेसबुक रिल्स प्रयोगकर्ताबीच पनि यसको क्रेज बढ्दो छ । विशेषगरी अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले प्रस्तुत गरेको नृत्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनीहरूले गरेको नृत्य स्टेपलाई पछ्याउँदै हजारौं प्रयोगकर्ताले टिकटक र रिल्समा भिडिओ बनाइरहेका छन् ।

गीतमा समाइरा र स्वस्तिमाको नृत्यशैलीसँगै गायक-गायिकाको स्वरको पनि प्रशंसा भइरहेको छ । दर्शकले लोकभाकाको प्रयोगलाई रुचाउँदै निर्माण टिमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले गीतको तयारी छायांकनकै बीचमा गरिएको बताउनुभयो । ‘दृश्य छायांकनको बीचमा समय निकालेर नृत्य अभ्यास गर्थ्यौं । समाइराको प्रस्तुति निकै राम्रो थियो, जसले मलाई पनि थप मिहिनेत गर्न प्रेरित गर्‍यो’, उहाँले भन्नुभयो ।

गीतमा खेम सेञ्चुरी र दीपिका बयाम्बु मगरको स्वर रहेको छ भने संगीत पनि खेम सेञ्चुरीकै हो । गीतका शब्द रमेश बिजीले लेख्नुभएको हो भने कोरियोग्राफी प्रदीप लामाले गर्नुभएको छ । फिल्मको छायांकन बर्दियाको राजापुरमा गरिएको हो । चलचित्र स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापालगायत कलाकारको अभिनय छ ।

निर्देशक यम थापाले गीत कथासँग जोडेर तयार गरिएको बताउनुभयो । ‘गीत कथाको प्रवाहलाई अगाडि बढाउने हिसाबले बनाइएको हो । दर्शकबाट पाएको माया हाम्रा लागि उत्साहजनक छ’, उहाँले भन्नुभयो । चलचित्रमा प्रदीप भट्टराई कार्यकारी निर्माता, म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहनुभएको छ ।