काठमाडौं := गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसदहरू निर्वाचित भएर आएका छन् । ती सांसदहरूको शपथ कहिले हुने र पहिलो बैठक कहिले बस्ने भन्ने यकिन भने भइसकेको छैन । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्ने तय भएको छ ।
समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ । आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ । निर्वाचन परिणामको जानकारी संसद् सचिवालयलाई दिनुपर्ने व्यवस्था छ । त्यसपछि सांसदहरूको शपथ र प्रतिनिधिसभाको पहिलो बैठकको मिति तय हुनेछ ।
संसद् बैठक बोलाउन आवश्यक केही प्रक्रिया बाँकी रहे पनि राजनीतिक दलहरूको हैसियत भने स्पष्ट भइसकेको छ । त्यसकारण दलहरू अब संसदीय दलको नेता चयन गर्नेतर्फ उन्मुख भएका छन् । संसद्मा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलको नेता चयन गर्ने अभ्यास छ। जसले सदनमा आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने र महत्वपूर्ण छलफलमा भाग लिने गर्छन् ।
संसद्मा पेस हुने विधेयकहरूमा पार्टीको अडानबारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ । यसैगरी, यदि दल सरकारमा छ भने सरकारका नीति तथा कार्यक्रमलाई संसद्बाट पारित गराउन मुख्य भूमिका खेल्नेदेखि सरकारका काम कारबाहीको निगरानी गर्ने काम दलको नेताको हुन्छ । संसदीय दलको नेता चुनिनका लागि सम्बन्धित दलका निर्वाचित सांसदहरूबीच मतदान वा सर्वसम्मति हुनुपर्छ । त्यसकारण राष्ट्रिय दलको मान्यता प्राप्त ६ राजनीतिक दलहरूको संसदीय दलको नेता ‘को’ बन्ला भन्ने चासो सुरु भएको छ ।
संसद्मा कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका पाउनेछ । सिट संख्याका आधारमा दोस्रो दल कांग्रेस भएकाले कांग्रेसमा दलको नेता बन्न थप रस्साकस्सी हुने देखिन्छ । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट पाएको छ । नेपाली कांग्रेस संसद्मा दोस्रो ठूलो दलको रूपमा रहनेछ ।
जसले गर्दा कांग्रेस संसदीय दलको नेताले मुलुकको प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत प्राप्त गर्नेछन् । संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व हुने दलको नेता चयनका लागि कांग्रेसमा देखिनेगरी कुनै छलफल भएको छैन । समानुपातिकतर्फ निर्वाचित अर्जुननरसिंह केसीलाई संसदीय दलको नेताको स्वाभाविक दाबेदार मानिएको छ । केसी कांग्रेसका अन्य सांसदहरूभन्दा सिनियर हुनुहुन्छ ।
पटक-पटक मन्त्री भइसक्नुभएका केसी २०३८ सालदेखि नै संसदीय राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । पार्टी सभापति गगन थापाका ससुरा भएका कारण संसदीय दलको नेता नबन्न केसीमाथि अप्रत्यक्ष दबाब छ । संसदीय दलमा अंकगणित जस्तो भए पनि यसपटक सभापति थापाले चाहेको व्यक्ति नै संसदीय दलको नेता बन्ने सम्भावना छ ।
कांग्रेस संसदीय दलको नेताका अर्का प्रत्यासी भीष्मराज आङदेम्बे पनि हुनुहुन्छ । अर्जुननरसिंह केसी दलको नेता नबन्ने परिस्थिति बनेमा भीष्मराजले अवसर पाउने सम्भावना छ । त्यसो त कांग्रेस संसदीय दलको नेता प्रत्यक्ष चुनाव जितेका मध्येबाटै बनाउनुपर्ने दबाब पनि छ ।
केही नेताहरूले यसका लागि पहल थालिसकेका छन् । सभापतिले चुनाव हारेको र रास्वपाले ३५ वर्षका बालेन शाहलाई प्रधानमन्त्री बनाउन लागेको सन्दर्भमा प्रत्यक्ष निर्वाचित युवालाई नै दलको नेता बनाएर जान उपयुक्त हुने कांग्रेसका नेताहरूको जिकिर छ । युवाबाट दलको नेता छानिने परिस्थिति बनेमा मुस्ताङबाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित योगेश गौचन थकाली, इलाम–१ बाट निर्वाचित निष्कल राई र पाल्पा-१ बाट निर्वाचित सन्दीप रानाको नाम चर्चामा छ ।
अर्कोतिर मधेसबाट प्रत्यक्ष निर्वाचित एक मात्रै सांसद डा. फिरदोस आलमलाई पनि कांग्रेसले संसदीय दलको नेता बनाउन सक्छ । अर्कोतिर प्रत्यक्ष चुनाव जितेका र केन्द्रीय समितिमा रहेका मध्येबाट दलको नेता बनाउनुपर्ने मत पनि कांग्रेसभित्र छ । कांग्रेस केन्द्रीय सदस्य रही प्रत्यक्ष चुनाव जित्नेमा भरतबहादुर खड्का, मोहन आचार्य, जनकराज गिरी लगायतका नेताहरू रहेका छन् ।




















