एजेन्सी := आइसिसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट ३ करोड ७६ लाख ६६ हजार ८८ नेपाली रुपैयाँ पाउने भएको छ । आइसिसीले एक विज्ञप्ति जारी गर्दै विश्वकपमा सहभागी टोलीले पाउने रकम घोषणा गरेको हो ।
आइसिसीले एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कारस्वरूप वितरण गरेको जनाएको छ । यो रकम सन् २०२४ को विश्वकपभन्दा बढी हो । विश्वकपमा नेपालले समूह चरणमा चार खेल खेलेको थियो । समूह चरणमा तीन खेलमा हार भोगेको नेपालले अन्तिम खेलमा भने स्कटल्याण्डलाई हराएको थियो ।
विश्वकप विजेता भारतले ३८ करोड ८१ लाख १३ हजार १६३ नेपाली रुपैयाँ प्राप्त गरेको छ । उपविजेता न्युजिल्याण्डले १४ लाख २२ हजार ६९२ डलर प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ डलर पाएको छ भने चौथो स्थानको इंग्ल्याण्डले नौ लाख ७४ हजार ४२३ डलर प्राप्त गरेको छ ।
यसैगरी, सुपर आठबाट बाहिरिएको वेस्ट इण्डिजले पाँच लाख ३८ हजार २६९ डलर, पाकिस्तानले पाँच लाख २२ हजार ६९२ डलर, जिम्बाबेले चार लाख ९१ हजार ५३८ डलर र श्रीलंकाले चार लाख ७५ हजार ९६२ डलर पाएका छन्। समूह चरणबाट बाहिरिएका अफगानिस्तान, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकाले समान तीन लाख नौ हजार ८०८ डलर प्राप्त गरेका छन् ।
स्कटल्याण्डले दुई लाख ७८ हजार ६५४ डलर तथा आयरल्याण्डले दुई लाख ७१ हजार ७३१ डलर पाएका छन् । यसैगरी, इटाली, नेदरल्याण्ड्स, युएई र नेपालले समान दुई लाख ५६ हजार १५४ डलर पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, क्यानडा, नामिबिया र ओमानले समान दुई लाख २५ हजार डलर प्राप्त गरेका छन् ।
हरेक सहभागी टोलीले सहभागिताबापत एक लाख १२ हजार ५०० अमेरिकी डलर पाउनेछन् भने अन्तिम पोजिसनका लागि छुट्टै पुरस्कार रकम तोकिएको छ । हरेक जितका लागि ३१ हजार १५४ डलर पनि छुट्याइएको छ । प्रतियोगितामा खेलाडीहरूका लागि कुल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकम वितरण गरिएको आइसिसीले जनाएको छ ।




















