नयाँ सरकार गठनको तयारीमा लाग्यो रास्वपा, बालेन प्रधानमन्त्री बन्लान् ?

काठमाडौं := फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाइको जनादेश पाएको छ । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचनबाट दुईतिहाइ बहुमत पाएको रास्वपामा नयाँ सरकार निर्माणबारे छलफल प्रारम्भ भएको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मतगणना सकिएको छ ।

रास्वपा प्रत्यक्ष र समानुपातिक गरी झण्डै दुई तिहाइको नजिक पुगेको छ । सरकार निर्माणका विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको रास्वपाका नेताहरूले बताएका छन् । सबैलाई नै चकित पार्दै नतिजा निकालेको रास्वपाले पूर्व-सहमतिअनुसार वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेको छ ।

पुस १३ गते रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेनबीच सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नम्बर ४ मा पार्टी सभापति रवि हुने र संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेनलाई बनाउने उल्लेख छ ।

सम्झौताको उक्त बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहने ।’ यद्यपि, निर्वाचनमा जित हासिल गरेपछि सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले दिएका सार्वजनिक अभिव्यक्तिले विभिन्न आशंका उत्पन्न भएको छ ।

काठमाडौं-९ बाट निर्वाचित हुनुभएका उपसभापति अर्यालले सहमति कार्यान्वयन गर्ने सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पक्ष/विपक्ष टीकाटिप्पणी भइरहेका छन् । बालेनलाई प्रधानमन्त्री बनाउने गरी भएको सात बुँदे सहमति कार्यान्वयन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नको जवाफमा उपसभापति अर्यालले भन्नुभएको थियो, ‘त्यो सम्झौतामा के लेखिएको छ मैले नै एकचोटि हेर्नुपर्छ । मलाई सबै कण्ठ छैन । तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यसमा जे लेखिएको छ त्यही हुन्छ ।’

सम्झौताभन्दा एक इञ्च पनि तलमाथि हुँदैन ? भन्ने पत्रकारहरूको प्रश्नमा वाचा गर्नुपर्ने आवश्यकता नदेखिएको जवाफ दिँदै अर्यालले भन्नुभएको थियो, ‘मैले तपाईँसित वाचा गर्नुपर्ने आवश्यकता देख्दिनँ । पार्टी निर्माण हुँदै छ । पार्टीबाट निर्वाचित भएर नेताहरू आउनुहुन्छ । वरिष्ठ नेता, सभापतिज्यूहरू छन् । पार्टीको केन्द्रीय समिति छ, त्यसमा छलफल होला । संसदीय दल बन्छ । त्यहाँबाट हुँदै जाने निर्णयलाई तपाईं हामीले मान्नुपर्छ ।’

प्रधानमन्त्रीको सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा सभापति रवि लामिछानेले पनि गोलमटोल जवाफ दिनुभएको छ । रास्वपाका संस्थापन पक्षका नेताहरूका अभिव्यक्तिले बालेन पूर्व-सहमतिअनुसार प्रधानमन्त्री बन्नेमा आशंका गरिएको छ । चितवन-२ बाट अत्यधिक मतले विजयी हुनुभएका सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विभिन्न अदालतमा विचाराधीन रहेकाले तत्काल प्रधानमन्त्री बन्ने अवस्था देखिँदैन।

तर, कतिपय नेताहरूले भने पार्टी नेतृत्वले दिएको अभिव्यक्तिलाई सञ्चारमाध्यमले अनावश्यक रूपमा भ्रम सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन् । राजनीतिक वृत्तमा रास्वपाको विधानअनुसार पनि बालेन प्रधानमन्त्री बन्न नसक्ने तर्क गरिएको छ । रास्वपाको विधानको धारा ६६ को उपधारा ८ मा प्रतिनिधिसभा संसदीय दलको नेता छनोट गर्ने व्यवस्था उल्लेख छ । यसमा निर्वाचनअगावै निर्वाचित उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारबीच प्रतिस्पर्धा गराएर नेता छनोट गर्ने भनिएको छ ।

रास्वपाको पार्टी विधानमा भनिएको छ, ‘संघीय निर्वाचनअगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ ।’ विधानको उपधारा (ख) मा उपधारा (क) बमोजिमको निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउनेछन् । उपधारा (क) र (ख) बमोजिम हुने निर्वाचनमा कुल खसेको सदर मतको (५० प्रतिशत+१) को संख्यामा मत ल्याउने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने उल्लेख छ । कुनै पनि उम्मेदवारले (५० प्रतिशत+१) मत प्राप्त नगरेमा बढी मत ल्याउनेबीच पुनः प्रतिस्पर्धा गराउने व्यवस्था छ ।

प्रतिस्पर्धाबाट जित्ने पार्टी संसदीय दलको नेता बन्ने विधानमा उल्लेख छ । अन्य राजनीतिक दलहरूको भन्दा रास्वपामा संसदीय दलको नेता चयन प्रक्रिया फरक रहेका कारण सात बुँदे सहमतिअनुसार बालेन शाह प्रधानमन्त्री बन्नेमा आशंका गरिएको हो । चैत ५ गतेसम्म पार्टी संसदीय दलको नेता चुन्ने रास्वपाको तयारी छ ।

रास्वपाको सरकार बन्ने निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफलमा व्यस्त रहेका निकट नेताहरूले बताएका छन् । संविधानको धारा ७६ (१) मा ‘प्रतिनिधिसभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ भनिएको छ । रास्वपाको संसदीय दलको नेता चयन भइसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुहुने छ ।