कांग्रेस संसदीय दलको नेतामा नयाँ बहस सुरु, भिष्मराज आङदेम्बे बलियो दाबेदार।

काठमाडौं:= फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको विषयमा राजनीतिक बहस तीव्र बनेको छ। संसदमा नयाँ शक्ति सन्तुलन स्पष्ट हुँदै जाँदा पार्टीभित्र नेतृत्व चयनलाई लिएर विभिन्न तहमा छलफल र समीकरणको चर्चा सुरु भएको हो।

यस निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट प्राप्त गर्दै कुल ३८ सिटसहित संघीय संसदमा उल्लेखनीय उपस्थिति कायम गरेको छ। परिणाम सार्वजनिक भएसँगै संसदीय दलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय पार्टीभित्र चासोको केन्द्र बनेको छ।

विशेषगरी नुवाकोटबाट कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत पराजित भएपछि संसदीय दलको नेताका सम्भावित दाबेदारबारे नयाँ बहस सुरु भएको हो। यस क्रममा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने वरिष्ठ नेता अर्जुनसिंह केसीको नाम पनि चर्चामा रहेको छ।

तर पछिल्लो समय पाँचथरबाट प्रतिनिधित्व गर्ने कांग्रेसका पूर्व सह–महामन्त्री भिष्मराज आङदेम्बे संसदीय दलको नेताका लागि बलियो दाबेदारका रूपमा उभिँदै गएको राजनीतिक वृत्तमा चर्चा छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका आङदेम्बे लोकतान्त्रिक मूल्य, संगठन निर्माण र समावेशी नेतृत्वको पक्षमा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित छन्।

विशेषगरी जनजाति समुदायबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेको उनको प्रतिनिधित्वले पनि अहिलेको राजनीतिक सन्दर्भमा नेतृत्व सन्तुलन र समावेशिताको दृष्टिले उनलाई महत्वपूर्ण विकल्पका रूपमा हेरिएको विश्लेषण गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिले संसदभित्र सशक्त रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने नेतृत्व आवश्यक देखिएको छ। सोही कारण पनि पार्टीभित्र अनुभवी र समन्वयकारी नेतृत्वको खोजी भइरहेको बताइन्छ।

यद्यपि संसदीय दलको नेताबारे कांग्रेसले औपचारिक निर्णय भने गरिसकेको छैन। आगामी दिनमा हुने आन्तरिक छलफल र सहमतिपछि कांग्रेस संसदीय दलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय टुंगो लाग्ने अपेक्षा गरिएको छ।

राजनीतिक वृत्तमा भने कांग्रेसभित्रको यो नेतृत्व चयनले आगामी संसदीय राजनीति, प्रतिपक्षको रणनीति र पार्टीको भावी दिशामा महत्वपूर्ण प्रभाव पार्ने चर्चा भइरहेको छ।