अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन अब आगामी चैत १३ गते हुने।

काठमाडौं := अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन आगामी चैत १३ गते हुने भएको छ । शुक्रबार एन्फाले स्थगित भएको एन्फाको निर्वाचन तालिका सार्वजनिक गर्दै एन्फाको नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि फागुन २८ गते निर्वाचन गर्ने घोषणा गरेको एन्फालाई आमनिर्वाचनका बेला आचारसंहिता लागू हुने भन्दै निर्वाचन आयोगले निर्वाचन रोक्न पत्राचार गरेपछि एन्फाको निर्वाचन स्थगित भएको थियो ।

नयाँ निर्वाचन तालिकाअनुसार शुक्रबार २२ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरूको नामावली प्रकाशन गरिएको छ । त्यस्तै, यही फागुन २८ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दाबी गर्ने अन्तिम मिति तोकिएको छ भने फागुन २९ गते पुनरवलोकन समितिको निर्णय हुनेछ ।

यस्तै, फागुन ३० गते दाबी विरोधको पुनरवलोकनपछिको अन्तिम नामावली प्रकाशन गरिनेछ भने चैत १३ गते निर्वाचन हुने एन्फा निर्वाचन समितिका सदस्य-सचिव लोकेन्द्र ओलीले जानकारी दिनुभयो। निर्वाचनमा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) अध्यक्षको दौडमा हुनुहुन्छ । केन्द्रीय समितिकै पदाधिकारीहरूको विरोध र अदालतमा परेको मुद्दाका कारण एन्फाको अर्ली इलेक्सन विवादमा पर्दै आएको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नपाएको एन्फाको निर्वाचन रोक्न एन्फा उपाध्यक्ष विराटजंग शाहीले मुद्दा हालेपछि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि पहिलोपटक माघ २८ गते झापामा तय भएको एन्फा निर्वाचन रोकिएको थियो । त्यसपछि फेरि निर्वाचन गर्न लागेका बेला निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुसार अन्य निर्वाचन गर्न नमिल्ने भन्दै पत्राचार गरेपछि एन्फा निर्वाचन समिति पछि हटेको थियो।