एजेन्सी := भारतीय वेब सिरिज ‘द फ्यामिली म्यान’का निर्देशकद्वय राज-डीके र अभिनेता सलमान खानबीच नयाँ चलचित्रका लागि सहकार्य हुने भएको छ । पछिल्लो समय उहाँहरूबीच फिल्मको कथावस्तु र निर्माणबारे निरन्तर छलफल भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतीय सञ्चार माध्यम इण्डिया टाइम्सका अनुसार, प्रस्तावित फिल्म सन् २००८ को चर्चित अमेरिकी सुपर हिरो चलचित्र ‘ह्यान्कक’बाट प्रेरित हुनेछ । चलचित्रमा सलमान खानले एक अनिच्छुक र अवकाश लिन खोजिरहेको सुपर हिरोको भूमिका निभाउने सम्भावना रहेको बताइएको छ । कथाअनुसार उहाँको पात्र आफ्नो जिम्मेवारीबाट टाढा जान खोज्छ तर परिस्थितिले उसलाई फेरि जिम्मेवारी वहन गर्न बाध्य बनाउँछ ।
निर्देशकद्वय राज-डीकेले चलचित्रमा हास्य र भावनात्मक पक्षलाई मिसाएर कथालाई प्रस्तुत गर्ने तयारी गरिरहेको बताइएको छ । रिपोर्टका अनुसार, सलमानले चलचित्रको आधारभूत कथा मन पराउनुभएको छ । तर, उहाँले अन्तिम निर्णय भने पूर्ण स्क्रिप्ट सुनेपछि मात्रै गर्ने बताउनुभएको छ ।




















