यस पटकको निर्वाचनमा कांग्रेस पार्टी मधेस झर्दा रास्वपाको ध्यान सुदूरपश्चिमतिर।

काठमाडौं := नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने निर्धारण गरिसकेको छ। पार्टी महामन्त्री गुरु घिमिरेका अनुसार पहिलोपटक कांग्रेसले जनकपुरबाट चुनावी सभा गर्दैछ । घिमिरेले दिएको जानकारी अनुसार सभामा कांग्रेसका पूर्व पदाधिकारीदेखि वर्तमान पदाधिकारी सम्पूर्णलाई निमन्त्रणा गरिनेछ ।

कांग्रेसले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा अगाडि सारेका गगन थापा मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् । मधेसबाट विस्तृत कटाउने लक्ष्य सहित कांग्रेस निर्वाचनमा होमिएको छ । ‘हामीले पहिलो चुनावी सभा यसपटक मधेस प्रदेशको जनकपुरबाट गर्दैछौँ । पूर्व पदाधिकारीदेखि पदाधिकारी सम्पूर्ण नेताहरूलाई केन्द्रीय कार्यालयले निम्ता पठाउनेछ ।’ घिमिरेले भने, ‘फागुन ४ गते अगाडि प्रतिज्ञापत्र घोषणापत्र सार्वजनिक गर्छौं र ७ गते जनकपुरमा सभा गर्छौं ।’

नेपाली कांग्रेस मधेश झरेपछि वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले भने सुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलो सभा गर्ने भएको छ।  पार्टी सहप्रवक्ता प्रतिभा रावलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा फागुन ६ गते बृहतसभा गर्ने तयारी गरेको हो। रावलका अनुसार सभामा पार्टी सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह उपसभापति स्वर्णिम वाग्ले डीपी अर्याल लगायतका नेताहरू पनि उपस्थित हुनेछन् ।

यस अगाडि पार्टीले प्रधानमन्त्रीको रूपमा अगाडि सारेका बालेन्द्र शाह सुदूरपश्चिमका विभिन्न जिल्लाहरू घुमेर आफ्नो प्रचारप्रसार गरिरहेका छन्। सभापति रवि भने खुट्टामा चोट लागेका कारण माघ ५ गतेदेखि सार्वजनिक कार्यक्रममा खासै निस्किएका छैनन्। – खबरहब डटकम