काठमाडौं:= षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको टिजर सार्वजनिक गरेको हो ।सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रलाई केन्द्रमा राख्दै कथावस्तुको झल्को दिइएको छ ।
बर्दियाको राजापुरमा छायांकन गरिएको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतका कलाकार को अभिनय छ ।
यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय यात्रा सुरु गर्दै हुनुहुन्छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेख्नुभएको हो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ ।
चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुनुहुन्छ भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहनुभएको छ । क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट् बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती र सम्पादक मित्रदेव गुरुङ हुनुहुन्छ ।
त्यसैगरी, प्रोडक्सन हेड रूपक प्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समीर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठले हुनुहुन्छ । चलचित्रमा कला निर्देशन उमेश चौधरी, कस्ट्युम डिजाइन तथा स्टाइलिङ जानकी कडायत, मेकअप काव्या थापा र संगीत प्रकाश सपूत, खेम सेञ्चुरी र जयन जे वाइवाको छ ।




















