[ रबिन्द्र बाराही ]
काठमाडौं := काठमाडौंकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरिनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।
विजेता मोक्तानलाई १७औं मिस तामाङ अञ्जु थोकरले ताज पहिराउनुभएको थियो । मोक्तानले नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ । उहाँले मिस कन्फिडेन्ट र भ्युअर चोइसको उपाधिसमेत जित्नुभयो ।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फष्ट रनरअप बन्नुभयो भने सृष्टि थिङ तामाङ सेकेण्ड रनरअप र ओसिन गोले तामाङ थर्ड रनरअप घोषित हुनुभयो । फष्ट रनरअपलाई ३० हजार, सेकेण्ड रनरअपलाई २० हजार र थर्ड रनरअपलाई १० हजार रुपैयाँ नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजक संस्था मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले जानकारी दिनुभयो ।
विभिन्न विधातर्फ सृष्टि थिङ तामाङले मिस फोटो जेनिक, देवी वाइबा तामाङले मिस ट्यालेन्ट, एश्वर्य घिसिङ तामाङले वेष्ट ड्रेस तथा मिस मल्टिमिडिया, सुजिना गोङ्बा तामाङले वेष्ट वाक र ब्युटिफुल हेयर, कबिना वाइबा तामाङले मिस पर्सनालिटी, पूजा जिम्बा तामाङले मिस डिसिप्लिन, तथा सोर्णिमा थिङ तामाङले ब्युटिफुल हेयर र वेष्ट स्माइलको उपाधि जित्नुभयो ।
कार्यक्रमको निर्णायक मण्डलमा वरिष्ठ संगीतकार प्रदीप बमजन, पूर्वमिस तामाङ सफलता थिङ र शेषराज भट्टराईलगायत रहनुभएको थियो ।




















