मलेसियामा हिन्दू धर्मअन्तर्गत तामिल समुदायले मनाउने महत्वपूर्ण धार्मिक पर्व थाइपुसम मनाइँदै।

क्वालालम्पुर (मलेसिया):= हिन्दू धर्मअन्तर्गत तामिल समुदायले मनाउने महत्वपूर्ण धार्मिक पर्व थाइपुसम विभिन्न देशहरूमा श्रद्धा, तपस्या र आत्मसंयमका साथ मलेसियामा पनि मनाइँदैछ। यो पर्व भगवान मुरुगन (कार्तिकेय/स्कन्द) लाई समर्पित मानिन्छ, जसलाई शक्ति, साहस र विजयका देवताका रूपमा पूजा गरिन्छ।

फेब्रुअरी १ मा मनाइने यस् थाइपुसाम पर्वको स्वागतका रूपमा आयोजना गरिएको अनुष्ठानअन्तर्गत हिजो राति जालान राजा लाउट हुँदै भगवान मुरुगनको मूर्ति बोकेको रथ यात्रा श्रद्धा र भक्तिभावका साथ सहभागी भई साथ दिएका छन्।

तामिल पात्रोको ‘थाइ’ महिनामा पूर्णिमाको आसपास पर्ने थाइपुसम पर्व असत्य र अन्यायमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ। धार्मिक विश्वासअनुसार यही दिन देवी पार्वतीले भगवान मुरुगनलाई असुरहरूमाथि विजय प्राप्त गर्न दिव्य भाला (वेल) प्रदान गर्नुभएको थियो।

थाइपुसमको अवसरमा भक्तजनहरूले उपवास, ध्यान, भजन–कीर्तन तथा कावडी बोकेर लामो दूरी पैदल यात्रा गरी मन्दिरहरूमा पूजा अर्चना गर्ने परम्परा छ। कतिपय भक्तजनहरूले भाकल पूरा गर्न शरीरमा सुई, काँटी वा बल्छी छेड्ने परम्परा पनि निर्वाह गर्ने गर्छन्, जसलाई आत्मशुद्धि र तपस्याको प्रतीकका रूपमा लिइन्छ।

मलेसियाको बटु केभ्स, भारतको पालानी मन्दिर लगायतका स्थानहरूमा लाखौँ भक्तजनको सहभागितामा पर्व भव्य रूपमा मनाइएको छ। ड्रम, बाजा, नाचगान र भजनसँगै कतिपय भक्तहरू समाधि वा ट्रान्सजस्तो अवस्थामा पुग्ने गरेका दृश्यहरू पनि देखिएका छन्।

थाइपुसम पर्व भारत (तमिलनाडु), मलेसिया, सिंगापुर, श्रीलंका र दक्षिण अफ्रिकालगायत देशहरूमा विशेष उत्साहका साथ मनाइन्छ।