केही वर्षअघिसम्म विश्वकपमा पुग्नु नै सपनाजस्तो लाग्ने नेपाली क्रिकेटलाई इतिहास रच्ने अवसर।

काठमाडौं := विश्व क्रिकेटको सबैभन्दा छोटो र रोमाञ्चक फर्म्याट टी-२० को महाकुम्भ फेरि सुरु हुँदैछ । भारत र श्रीलंकामा हुन लागेको आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले लगातार दोस्रो र समग्रमा तेस्रोपटक सहभागिता जनाउँदैछ। केही वर्षअघिसम्म विश्वकपमा पुग्नु नै सपनाजस्तो लाग्ने नेपाली क्रिकेट आज सहभागिता जनाउनेमात्रै होइन, अर्को चरणमा पुग्ने अवसरको खोजीमा छ । अघिल्लो विश्वकपमा नेपालले जित निकाल्न नसके पनि प्रदर्शनले धेरैको ध्यान तानेको थियो ।

दक्षिण अफ्रिका र बंगलादेशजस्ता टेष्ट राष्ट्रहरूलाई अन्तिम ओभरसम्म तान्दै नेपालले विश्व क्रिकेटलाई स्पष्ट सन्देश दिएको थियो कि अब नेपाल सजिलै हराइने टोली होइन । त्यही आत्मविश्वास बोकेर नेपाल यसपटक विश्वकप मैदान उत्रिँदैछ। नेपाल परेको समूह ‘सी’ मा दुईवटा टेष्ट राष्ट्र, एक अनुभवी एसोसिएट र एक नयाँ टोलीसँग प्रतिस्पर्धा गर्दै छ । २० राष्ट्र सहभागी विश्वकपमा चार समूह बनाइएका छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोलीमात्र सुपर-८ मा प्रवेश गर्नेछन् । अर्थात्, नेपाललाई पनि यसपटक सुपर-८ मा पुग्ने अवसर छ।नेपालको समूह ‘सी’ मा दुई टेष्ट राष्ट्र (इंग्ल्याण्ड, वेष्ट इण्डिज), एक बलियो एसोसिएट (स्कटल्याण्ड) र एक डेब्यु टोली (इटली) छन् । समूहलाई हेर्दा नेपालका लागि एक स्पष्ट जित (इटली), एक सम्भावित जित (स्कटल्याण्ड) र दुई कठिन चुनौती (इंग्ल्याण्ड, वेष्ट इन्डिज) देखिन्छन् ।

कस्ता छन् प्रतिद्वन्द्वी ?

दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्याण्ड अहिले पनि उपाधि दावेदारकै रूपमा मैदान उत्रनेछ । युवा कप्तान ह्यारी ब्रुकको नेतृत्वमा रहेको टोलीमा जोस बटलर, फिल साल्ट, बेन डकेट जस्ता विष्फोटक ब्याटर छन् । बलिङमा जोफ्रा आर्चर र आदिल राशिद विपक्षीका लागि खतरनाक बन्न सक्छन् । अनुभवी इंग्ल्याण्डसँग भिड्नु नेपालका लागि सबैभन्दा कठिन परीक्षा हुनेछ । फेब्रुवरी ८ मा हुने पहिलो खेलमै इंग्ल्याण्डलाई हराउन सके नेपालले विश्वकपमै ठूलो सनसनी मच्चाउनेछ, तर यथार्थमा त्यो अत्यन्त चुनौतीपूर्ण देखिन्छ ।

दुई पटकको च्याम्पियन वेष्ट इण्डिज टी-२० क्रिकेटमा कुनै पनि दिन जुनसुकै टोलीलाई हराउन सक्छ । पावर हिटिङ उनीहरूको मुख्य हतियार हो । शिमरन हेटमायर, रोभमन पावेल, रोमारियो शेफर्ड जस्ता खेलाडी डेथ ओभरमा खेल उल्ट्याउन सक्षम छन् । नेपालको बलियो स्पिन आक्रमणले यही ठाउँमा मौका खोज्न सक्छ । गत वर्ष नेपालले वेस्ट इन्डिजलाई टी-२० सिरिजमा २-१ ले हराएको आत्मविश्वास पनि नेपालसँग छ, यद्यपि त्यो सिरिजमा पूर्ण शक्ति टोली थिएन ।

समूह ‘सी’ मा नेपालको स्तरसँग सबैभन्दा नजिकको टोली स्कटल्यान्ड हो । दुवै टोलीबीचको प्रतिस्पर्धा पछिल्लो समय बराबरीजस्तै देखिएको छ । स्कटल्यान्डसँग अनुभव, सन्तुलित बलिङ र फाष्ट बलरहरूको धार छ भने नेपालसँग स्पिन र बढ्दो आत्मविश्वास । फेब्रुअरी १७ को खेल नेपालका लागि ‘डु-अर-डाइ’ जस्तै हुनेछ । यो खेल जित्न सके सुपर-८ को ढोका आधा खुल्नेछ । पहिलोपटक विश्वकप खेल्न लागेको इटली समूहको सबैभन्दा कमजोर टोली मानिन्छ ।

अनुभव, स्रोत र ठूला म्याचको दबाब सबै हिसाबले इटली नेपालभन्दा पछाडि छ । तर, विश्वकपमा स्थान बनाउनु नै इटली कमजोर छैन भन्ने प्रमाण हो । त्यसैले नेपालले हल्का रूपमा लिन मिल्दैन । फेब्रुअरी १२ को खेलमा जित अनिवार्य छ । यहाँ चुक्नु भनेको सुपर-८ सपनामा ठूलो धक्का लाग्नु हो। यसरी हेर्दा नेपाल सुपर-८ पुग्न कम्तीमा दुई जित आवश्यक देखिन्छ, इटली र स्कटल्याण्डविरुद्ध । त्यसपछि वेष्ट इण्डिज वा इंग्ल्याण्डमध्ये एक टोलीविरुद्ध अप्रत्याशित जित निकाल्नसके नेपाल इतिहास रच्न सक्छ ।