क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङोर राज्य अध्यागमन विभाग “इमिग्रेशन”ले केपोंग , गोम्बाक क्षेत्रगरि दुई स्थानमा छापा मार्न गरेको एकीकृत अपरेस सञ्चालनमा सयौंको संख्यामा अवैधानिक विदेशी पक्राउ गरेको छ।
उक्त अपरेसनमा १७७ जना विभिन्न निकायका अधिकारीहरू सहभागी थिए। यसमा जनरल अपरेसन फोर्स (PGA), मलेसियन प्रहरी (PDRM), राष्ट्रिय जन्मदर्ता विभाग (JPN), नशा विरोधी एजेन्सी (AADK) तथा सामाजिक कल्याण विभाग (JKM) का अधिकारीहरू समावेश थिए।
अपरेसनका क्रममा इमिग्रेशन ऐन १९५९/६३ अन्तर्गत कसुर गरेको आशंकामा १४७ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका ९ देशका विदेशी नागरिकहरू इन्डोनेसिया, म्यानमार, बंगलादेश, भारत, पाकिस्तान, नेपाल, थाइल्याण्ड, नाइजेरिया र चीनका नागरिक रहेको इमिग्रेशन विभागले जनाएको छ।

पक्राउ परेकाहरूको उमेर ६ वर्षदेखि ५५ वर्ष बीच रहेको छ।अपरेसनमा सेलाङोर राज्यका इमिग्रेशन निर्देशक खैरुल अमिनुस बिन कामारुद्दिन स्वयं उपस्थित थिए। उनलाई
• रेडमान बिन सफार, उप–निर्देशक (व्यवस्थापन)
• मोहम्मद खुसेरी बिन कामारुद्दिन, उप–निर्देशक (नियन्त्रण)
ले साथ दिएका थिए।

उक्त अवसरमा निर्देशक खैरुल अमिनुसले एकीकृत अपरेसन अवैधानिकविरुद्ध धरपकड वर्षभरि निरन्तर सञ्चालन गरिने स्पष्ट पारे। पक्राउ परेका सबै विदेशी नागरिकलाई सेमेन्हिय इमिग्रेशन डिपोमा लगेर थुनामा राखी थप अनुसन्धान गरिने इमिग्रेशन विभागले जनाएको छ।




















