जोहोरमा इमिग्रेसन–प्रहरीको संयुक्त अपरेसन:५५ जना महिला सहित,६४ जना विदेशी पक्राउ।

जोहोरबारु := मलेसियाको जोहोर राज्यमा मलेसियाली अध्यागमन विभाग “इमिग्रेसन” र रोयल मलेसियन पुलिस (PDRM) ले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ६४ जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ।

जोहोर राज्य इमिग्रेसन विभागले जारी गरेको विज्ञप्ति अनुसार, २७ जनवरी २०२६ का दिन जोहोर बहारु सहरका व्यावसायिक परिसर तथा सर्वसाधारण आवतजावत बढी हुने क्षेत्रमा संयुक्त अपरेसन (Operasi Bersepadu) सञ्चालन गरिएको हो। अपरेसन दिउँसो ४ बजेदेखि सुरु भई करिब ८० जना इमिग्रेसन तथा प्रहरी अधिकारीको सहभागिता रहेको थियो।

इमिग्रेसन विभागका अनुसार उक्त अपरेसन अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिक (PATI), इमिग्रेसन पासको दुरुपयोग तथा प्रचलित कानुन उल्लङ्घन गर्नेहरू विरुद्ध कडाइका साथ चलाइएको हो। विदेशी नागरिकसँग वैध कागजात छ–छैन भन्ने विषयमा विस्तृत जाँच गरिएको थियो भने व्यवसायिक प्रतिष्ठान सञ्चालकहरूको गतिविधिमाथि समेत निगरानी गरिएको जनाइएको छ।

अपरेसनका क्रममा पक्राउ परेका ६४ जना विदेशी नागरिकमध्ये १ जना इन्डोनेसियाली पुरुष , ३ जना भारतीय पुरुष , ३ जना बंगलादेशी पुरुष , २ जना पाकिस्तानी पुरुष , १७ जना थाइल्यान्डकी महिला , ३३ जना इन्डोनेसियाली महिला , ३ जना चिनियाँ महिला , २ जना युगाण्डाकी महिला रहेका छन्।

इमिग्रेसन विभागका अनुसार पक्राउ परेकाहरूको उमेर १९ वर्षदेखि ६५ वर्षसम्म रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू वैध यात्रा कागजात नहुँदा, सामाजिक भ्रमण पासको दुरुपयोग तथा अनुमति भन्दा बढी समय मलेसियामा बसोबास गरेको पाइएको छ।

पक्राउ परेका सबै विदेशी नागरिकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इमिग्रेसन डिटेन्सन केन्द्रमा राखिएको छ। जोहोर राज्य इमिग्रेसन विभागले यस्ता अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने स्पष्ट पार्दै अवैध आप्रवासन र कानुन उल्लङ्घनप्रति कुनै सम्झौता नगर्ने चेतावनी दिएको छ।