स्पष्टीकरण सोध्ने प्रक्रिया तीव्र, अमर्यादित टिप्पणी गरेको विषयमा बालेन र बस्नेतलाई पनि सोधियो।

काठमाडौं := निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा उम्मेदवार, सार्वजनिक पदाधिकारी तथा संघ संस्थालाई स्पष्टीकरण सोध्ने प्रक्रिया तीव्र बनाएको छ । जाजरकोटबाट नेकपा उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडियोका आधारमा तीन दिनभित्र स्पष्टीकरण मागिएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचनमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई सरकारी गाडी प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । काठमाडौं-४ का राप्रपा उम्मेदवार सुरेन्द्र भण्डारीलाई द्वेषपूर्ण अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको छ ।

रास्वपाका दोलखाका उम्मेदवार जगदीश खरेललाई झण्डा प्रयोग र भिड व्यवस्थापनसम्बन्धी विषयमा सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ ।बालेन्द्र साह (बालेन) लाई सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गरेको विषयमा, महेश बस्नेतलाई आपत्तिजनक अभिव्यक्तिका कारण आयोगले स्पष्टीकरण सोधेको छ ।

साथै निकोलस भुसाल र जानुका पाठकलाई पनि विभिन्न प्रचार सामग्री र घृणाजन्य अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद्लाई पनि आचारसंहिता उल्लंघनको आशंकामा स्पष्टीकरण माग गरिएको छ ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार प्रारम्भमा तीन दिने, त्यसपछि २४ घण्टे स्पष्टीकरण लिइने र त्यसपछि पनि उल्लंघन दोहोरिए जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही गरिनेछ ।