थामी समाज मलेसियाद्वारा पीडित अर्जुन थामीलाई रु. २ लाख ३३ हजार ४ सय सहयोग हस्तान्तरण।

क्वालालम्पुर := नेपाल थामी समाज मलेसियाले मानवीय दायित्व र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सञ्चालन गरेको “अर्जुन थामी बचाउ अभियान” अन्तर्गत संकलित उपचार सहयोग रकम औपचारिक रूपमा बिरामी अर्जुन थामीलाई हस्तान्तरण गरेको छ।

दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. ८ सुसेथामी निवासी सुसे थामीका माइला छोरा अर्जुन थामी गम्भीर स्वास्थ्य समस्याबाट पीडित भई लामो समयदेखि उपचाररत छन्। चिकित्सकका अनुसार उपचार सम्भव भए पनि अत्यधिक खर्चका कारण परिवार आर्थिक संकटमा परेपछि नेपाल थामी समाज मलेसियाको सक्रिय पहलमा सहयोग अभियान सञ्चालन गरिएको हो।

दुई महिने मानवीय अभियान

नेपाल थामी समाज मलेसियाका अनुसार उक्त उपचार सहयोग अभियान दुई महिनाको अवधिमा सञ्चालन गरिएको थियो। अभियानलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउन विशेष उपचार सहयोग अभियान समिति गठन गरिएको थियो।
उपचार सहयोग अभियान समिति
संयोजक: निर थामी
सह–संयोजक: पल ठान्टी थामी
कोषाध्यक्ष तथा सचिव: सुजन थामी
सदस्य: तुलसा थामी
वरिष्ठ सल्लाहकार: सन्तोष ठान्टी थाङ्मी

संकलित रकम र हस्तान्तरण विवरण

अभियानमार्फत हालसम्म जम्मा रु. २,३३,४०० (दुई लाख तेह्रतीस हजार चार सय रुपैयाँ) उपचार सहयोग संकलन भएको समाजले जनाएको छ। यसअघि रु. ५४,००० रकम बिरामी अर्जुन थामी तथा उनका बुवाको हातमा बुझाइसकिएको थियो।

बाँकी रकममध्ये रु. १,७९,४०० आज नेपाल थामी समाज केन्द्रीय सभाका अध्यक्ष रणबहादुर थामीको हातबाट समाजसेवी कलाकार माया थामी तथा केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा औपचारिक रूपमा उपचारका लागि हस्तान्तरण गरिएको हो।

“मानवता नै सबैभन्दा ठूलो धर्म”
नेपाल थामी समाज मलेसियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ—
“दुःख र पीडाको घडीमा कसैको उपचारमा हात बढाउनु नै सबैभन्दा ठूलो धर्म, मानवता र पुण्य हो।”
संस्थाले यस मानवीय अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू, अभियान समिति, केन्द्रीय तथा स्थानीय पदाधिकारीहरू, साथै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ।

थप सहयोगको अपेक्षा

अर्जुन थामीको उपचार प्रक्रिया अझै जारी रहेकाले नेपाल थामी समाज मलेसियाले आगामी दिनहरूमा पनि देश–विदेशमा रहेका सम्पूर्ण शुभेच्छुकहरूसँग निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा गरेको छ।