जोहोर (मलेसिया):= जोहोरबारुमा आयोजित सोनाम ल्होछार कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । सोनाम ल्होछार तामाङ समुदायको प्रमुख राष्ट्रिय चाड हो । सांस्कृतिक प्रस्तुतीसँगै समुदायबीचको एकता र सहकार्यको सन्देश पनि प्रवाह गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले प्रवासमा रहँदा पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्नु आजको आवश्यकता भएकोमा जोड दिएका थिए। प्रमुख अतिथि मिलन दोङ तामाङले मन्तव्य दिँदै यस्ता सांस्कृतिक कार्यक्रमहरूले युवा पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति जागरूक बनाउने उल्लेख गर्नुभयो। उहाँले नेपाल तामाङ घेदुङले विश्वभर छरिएर रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै संस्कृति संरक्षणमा निरन्तर काम गरिरहेको बताउनुभयो।

सभाध्यक्ष मंगल दोङ तामाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, स्वयंसेवक, प्रायोजक तथा दर्शकप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ व्यवस्थित र भव्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको क्रममा तामाङ मौलिक नृत्य, परम्परागत भेषभूषा, सामूहिक नृत्य तथा सांस्कृतिक झाँकीले विशेष आकर्षण थपेको थियो। सहभागी दर्शकहरूले यस्ता कार्यक्रमले परदेशी जीवनको थकान कम गर्नुका साथै समुदायबीच आत्मीयता बढाएको प्रतिक्रिया दिएका छन्।

आयोजकका अनुसार जोहोरबारुमा आयोजना गरिएको यो सोनाम ल्होछार कार्यक्रम मलेसियामा रहेका तामाङ समुदायका लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायबीच सांस्कृतिक मेलमिलापको उत्कृष्ट उदाहरण बनेको छ।





















