क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली थारु,चौधरी समुदायले माघी मनाउने भएको छ।
“थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान” भन्ने मूल नाराका साथ थारु कल्याणकारिणी सभा मलेसियाको प्रमुख आयोजनामा यही जनवरी १८ तारिख आइतबार दिउँसो १२ बजे क्वालालम्पुरमा थाकस मलेसियाको १०औँ वार्षिकोत्सव तथा माघीको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरी माघी मनाउने तय भएको हो।
एक आपसमा शुभकामना आदानप्रदान, नाचगानसँगै कार्यक्रममा माघीमा खाइने थारु समुदायको प्रमुख परिकार घोङ्गी, चामलको भुजाको लड्डु, माछा मासु फ्राई लगायतका परिकार पनि खाने तय भएको छ। त्यस्तै थाकस मलेसियामा आवद्ध हुने नवप्रवेशी थारु समुदायका युवा, युवतीहरूलाई प्रमाणपत्र वितरण गरिने तयारी पनि गरिएको थाकस मलेसियाका सभापति प्रकाश चौधरीले बताउनुभयो।
यस वर्षको माघी कार्यक्रम आयोजना अचानक तय भएकोले निमन्त्रणा नपुगेको तर कार्यक्रममा उपस्थित हुन चाहने जो कोही नेपाली महानुभावहरू उपस्थित हुन मिल्ने सभापति चौधरीले बताउनुभयो।




















