देउवा र महामन्त्रीद्धयबीच कुरो मिलेन, विशेष पक्षले थाले निर्वाचनको प्रक्रिया।

काठमाडौं := नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता निष्कर्षबिहीन बनेको छ। विशेष महाधिवेशन र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै निष्कर्षमा नपुगेपछि आज बिहान देउवा निवास महाराजगञ्जमा सभापतिसँग छलफल गर्न महामन्त्रीद्वय पुगेका थिए।

सभापति छाड्नेलगायतका विशेष महाधिवेशन पक्षधरले उठाएका कुनै पनि माग सम्बोधन गर्ने कुरामा देउवाको सहमति नरहेको त्यसैले दुबै महामन्त्री बाहिरिएको महामन्त्रीद्वय निकट स्रोतले जानकारी दियो। देउवासँग वान-टु-वान वार्ता गर्न महामन्त्रीद्वय पुगेपनि देउवा निवासमा संस्थापन र शेखर कोइराला पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल पनि पुगेका थिए।

तर देउवा निकट नेता रमेश लेखकले भने देउवाले उमेदवारहरूको टिकटमा आफ्नो हस्ताक्षर हस्तान्तरण गर्ने विषयमा लचकता देखाएको बताए । महामन्त्रीद्वय थापा र शर्मासँग आफ्नै निवास महाराजगन्जमा गरेको छलफलमा देउवाले हस्ताक्षर अरुलाई दिने विषयमा आफू ‘रिजिड’ नरहेको बताएका थिए ।

“उहाँहरुले सभापतिको हस्ताक्षर नचलाउने गरी बटम लाइन बनाउनुभएको थियो । त्यसमा सभापतिज्यूले ‘म रिजिड छैन’ म हस्ताक्षर हस्तान्तरण गर्नका लागि तयार छु भनेर वचन दिनुभएको छ,” नेता रमेश लेखकले भने, तर, राष्ट्रिय सभामा सभापतिज्यूको हस्ताक्षर छ । प्रतिनिधि सभामा समानुपातिक तर्फको बन्द सूचीमा सभापतिजीकै हस्ताक्षर छ । अब फेर्न मिल्छ कि मिल्दैन तपाईँहरुले विचार गर्नुस् भन्नुभएको छ ।”

तर महामन्त्री निकट स्रोतले भने देउवाले अलमल्याउने र समय घर्काउने मात्रै कुरा गरेको जनाएको छ । “उहाँले विशेष महाधिवेशनले गरेका निर्णय, राजीनामालगायतका विषयमा कुरै गर्नुभएन, त्यसमा छलफल गर्नै तयार हुनुभएन,” स्रोतले भन्यो । उनका अनुसार हस्ताक्षरको विषयमा सामान्य चासो थियो तर अन्य कुरामा टसको मस देखिएनन् ।

ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । सभापतिसँग निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर निर्वाचनमार्फत नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।