क्वालालम्पुर (मलेसिया):= विभिन्न आरोपमा मलेसियन प्रहरी र अध्यागमन विभागद्वारा पक्राउ परि मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरूमा बस्न बाध्य भएका ९ जना नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन हवाई टिकट उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्याउने व्यक्ति तथा संस्थाप्रति नेपाली राजदूतावास, क्वालालम्पुरले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
नेपाली राजदूतावासका अनुसार साल २०८२ को कार्तिक, मंसिर र पुस महिनामा उक्त नेपालीहरूलाई नेपाल फर्काउन आवश्यक हवाई टिकटको व्यवस्था निजी तथा सामुदायिक सहयोगबाट सम्भव भएको हो। सीमित स्रोत–साधनको अवस्थाका बीच मानवीय संवेदनालाई उच्च प्राथमिकतामा राख्दै गरिएको यो सहयोग सराहनीय रहेको दूतावासले उल्लेख गरेको छ।
स्वदेश फिर्तीमा सहयोग गर्ने देहायका महानुभाव तथा संस्थाहरू रहेका छन् :
इन्दु बस्नेत — १ जना
रोशन राना (गोरखा एसोसिएसन, मलेसिया) — २ जना
ईन्द्र नारायण लिम्बु — १ जना
हेल्प मधेशी, मलेसिया — १ जना
लाङ्घाली चुलो, मलेसिया — १ जना
नेपाली जनसम्पर्क समिति, मलेसिया — १ जना
कुमार लामा — १ जना
ओखलढुंगा एकता सेवा समाज, मलेसिया — १ जना
नेपाली राजदूतावासले संकटमा परेका नेपालीहरूको उद्धार र सहयोगका लागि प्रवासी समुदाय, संघ–संस्था तथा व्यक्तिहरूले देखाउँदै आएको सहयोग भावनाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ। यस किसिमको सामूहिक प्रयासले वैदेशिक भूमिमा समस्यामा परेका नेपालीहरूलाई नयाँ आशा र जीवनको दोस्रो अवसर प्रदान गरेको दूतावासको भनाइ छ ।


















