काठमाडौं := नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताउनुभएको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडाैँमा भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताउनु भयो । उहाँले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोप समेत लगाउनु भयो ।
उहाँले भन्नुभयो,‘यहाँ कसैले हठ गरिराक्न हुँदैन । विधि र विधान अनुसार अगाडि बढन दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’
उनले इतिहासमा कांग्रेसले राणा शासन फालेको, पञ्चायत ढालेको, गणतन्त्र ल्याएको भए पनि अब नयाँ ढंगले पार्टी अघि बढ्नुपर्ने बताएका हुन्। ‘हामी गर्वका साथ भन्छौं- नेपाली कांग्रेसले राणा फाल्यो, पञ्चायत ढाल्यौं, देशमा गणतन्त्र ल्यायौं। तर इतिहासको ब्याजमात्रै खाएर अब भविष्य चल्दैन,’ उनले भने।
उनले अब युवा पुस्तालाई अघि बढाउनुपर्ने पनि बताए। नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।




















