पाँच वर्षमा ६१ हजार मलेसियालीले त्यागे नागरिकता, ९३ प्रतिशतले सिंगापुर रोजे।

पुत्राजया:= पछिल्ला पाँच वर्षमा ६१,११६ जना मलेसियाली नागरिकले आफ्नो नागरिकता त्यागेको तथ्य बाहिर आएको छ। अर्थतन्त्र र पारिवारिक कारणलाई मुख्य कारकका रूपमा चिनिएको छ। गत बर्ष सन् २०२५ डिसेम्बर १७ सम्मको पाँच वर्षे अवधिमा मलेसियाली नागरिकता त्याग्नेहरूमध्ये महिलाको संख्या सबैभन्दा बढी रहेको छ। यस अवधिमा ३५,३५६ महिलाले अन्य देशको नागरिकता लिन मलेसियाली नागरिकता परित्याग गरेका छन्।

यो जानकारी दिँदै राष्ट्रिय दर्ता विभाग (JPN) का महानिर्देशक दातुक बद्रुल हिशाम एलियासले औसतमा हरेक वर्ष करिब १० हजार जनाले नागरिकता त्याग्ने आवेदन दिने बताए। उनका अनुसार, नागरिकता त्याग्नेहरूमध्ये ९३.७८ प्रतिशतले सिंगापुर रोजेका छन्। त्यसपछि अष्ट्रेलिया (२.१५ प्रतिशत), ब्रुनाइ (०.९७ प्रतिशत) र अन्य देशहरू ३.१ प्रतिशत रहेका छन्।

आर्थिक र पारिवारिक कारण प्रमुख

दातुक बद्रुल हिशामका अनुसार, आर्थिक अवसर र परिवारसँग सम्बन्धित कारणले धेरैले नागरिकता त्याग्ने निर्णय लिएका छन्। “उदाहरणका लागि सिंगापुरमा काम गर्नेहरूलाई रोजगारी र आम्दानीका कारण त्यहाँको नागरिकता लिन सजिलो हुन्छ,” उनले स्थानीय मिडिया हरियन मेट्रोसँगको विशेष अन्तर्वार्तामा बताए।

पारिवारिक कारणमा भने विदेशी नागरिकसँग विवाह गरी जीवनसाथीसँगै बस्नुपर्ने अवस्था प्रमुख रहेको उनले बताए। “जस्तै क्यानाडेली नागरिकसँग विवाह गरेपछि क्यानाडा सरेर त्यहीँको नागरिकता लिने,” उनले भने।

द्वैध नागरिकता मान्य छैन

उनका अनुसार केही अवस्थामा नागरिकता खोसिने (pelucutan) घटना पनि हुने गरेको छ।
मलेसियाको संविधानले द्वैध नागरिकता मान्यता नदिने भएकाले यदि कुनै मलेसियालीले विदेशी नागरिकका हैसियतमा अधिकार प्रयोग गरे (जस्तै मतदान), त्यस्तो अवस्थामा उनको मलेसियाली नागरिकता स्वतः खोसिन सक्छ। यद्यपि, नागरिकता खोसिने घटनाको संख्या स्वेच्छिक रूपमा नागरिकता त्याग्नेभन्दा कम रहेको उनले स्पष्ट पारे।

३१–४० वर्ष उमेर समूह अगाडि

नागरिकता त्याग्नेहरूमध्ये सबैभन्दा ठूलो समूह ३१ देखि ४० वर्ष उमेर समूहको रहेको छ।  विवरण यसप्रकार छः
• ३१–४० वर्ष: १९,२८७ जना (३१.६%)
• २१–३० वर्ष: १८,८२७ जना (३०.८%)
• ४१–५० वर्ष: १४,१२६ जना (२३.१%)
• ५० वर्ष माथि: ८,८७६ जना (१४.५%)