विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक, जर्सीको तीन फरक-फरक मूल्य।

काठमाडौं:= सन् २०२६ को आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमबीच विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झण्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ ।

जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा क्रिकेटको लोकप्रियता (क्रेज) बढ्दै गएको बताउनुभयो । अध्यक्ष चन्दले विश्वकपको ट्रफीलाई नेपालका विभिन्न विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूमा ‘ट्रफी टुर’ गराइने जानकारी दिनुभयो ।

सार्वजनिक भएको जर्सीको तीन फरक–फरक मूल्य रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार खेलाडीले नै लगाउने गुणस्तरको मूल्य ३४ सय ९९ रुपैयाँ रहेको छ । यस्तै, रेप्लिका एडिसन नाम दिइएको जर्सीको मूल्य १५ सय ९९ र फ्यान जर्सी ७९९ मा प्राप्त गर्न सकिनेछ । जर्सी नजिकैको भाटभटेनी सुपरस्टोर प्राप्त गर्न सकिने क्यानको भनाइ छ ।

यसपटकको आइसिसी टी-२० विश्वकप भारत र श्रीलंकामा माघ २४ देखि सुरु हुँदैछ । टी-२० विश्वकपको दशौं संस्करणमा नेपालसहित २० टिमले भाग लिँदैछन् । २९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलंकामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्याण्ड, वेष्ट इण्डिज, बंगलादेश र इटाली छन् । नेपालले पहिलो खेल इंग्ल्याण्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ । अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ । तेस्रो खेल वेष्ट इण्डिजसँग फागुन ३ र तेस्रो खेल बंगलादेशसँग फागुन ५ मा हुनेछ । नेपालका सबै खेल मुम्बईको वाङखाडे रंगशालामा हुनेछन् ।

प्रतियोगिताका मैदानहरूम नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँदिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डन्स (कोलकाता), आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिंगालिज स्पोट्र्स क्लब क्रिकेट ग्राउण्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्याण्डी) रहेका छन् ।