क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको विदेश संगठन “नेपाली जनसम्पर्क समिति” मलेसियाको यहीँ जनवरी ०४ तारिख आयोजना हुन लागेको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
यहीँ आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रेण्ड कन्टिनेण्टलमा बिहान ११:०० बजेदेखि आयोजना हुने उक्त अधिवेशन कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण राज शर्मा पौडेलको प्रमुख आतिथ्यता रहने आयोजक संस्था नेपाली जनसम्पर्क समिति मलेसियाले जनाएको छ।
समितिले यस अधिवेशनलाई प्रवास मलेसियामा संगठन विस्तार, लोकतान्त्रिक समाजवादको मूल्य–मान्यताको प्रवर्द्धन तथा नेपाली कांग्रेस समर्थकहरूबीच आपसी एकता मजबुत बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

साथै, रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहनुभएका लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसात् गर्ने र नेपाली कांग्रेस पार्टीप्रति झुकाव राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायत समय मिल्ने नेपाली समुदायलाई अधिवेशनमा सहभागिताका लागि सार्वजनिक हार्दिक अनुरोध समेत गरेको छ।
कार्यक्रममा उपस्थितिका लागि मलेसियास्थित नेपाली राजदूतावास, मलेसियालगायत विभिन्न संघसंस्थालाई निमन्त्रणा पनि गरिसकिएको समितिले जनाएको छ। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन नेपाली कलाकारले सांगीतिक-सांस्कृतिक प्रस्तुतिसमेत दिने आयोजक समितिले जनाएको छ।




















