काठमाडौं := त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानी काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका छन्।
काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्रदान गरिएको हो। दीक्षित हुनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक तहका १४, स्नातकोत्तर तहका चार हजार ८६०, दर्शनाचार्य (एमफिल) का १२० र विद्यावारिधिका १५२ जना विद्यार्थी सहभागी भएका थिए।
साथै, विभिन्न सङ्कायबाट उत्कृष्ट नतिजा हासिल गर्ने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोडेर अघि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभयो।

चार लाखभन्दा बढी विद्यार्थी अध्ययनरत त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक–विद्यार्थी अनुपात सन्तुलनमा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु ठूलो चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो।
समारोहका प्रमुख अतिथि भौतिकशास्त्रतर्फ सन् २०१५ को नोबेल पुरस्कार विजेता प्राध्यापक डा. ताकाआकी काजिताले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययनमा लागेकै कारण नोबेल पुरस्कार प्राप्त गर्न सफल भएको अनुभव साझा गर्नुभयो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति महावीर पुनले अबको विश्वले व्यक्तिलाई ‘तपाईं कुन डिग्रीधारी हुनुहुन्छ ?’ भन्दा पनि ‘तपाईं के गर्न सक्नुहुन्छ ?’ भन्ने प्रश्न सोध्ने भएकाले ज्ञान र सीपलाई समाज परिवर्तनको क्षेत्रमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले दीक्षान्तलाई विद्यार्थीको उज्ज्वल भविष्यको सुरुवातको बिन्दुका रूपमा व्याख्या गर्दै सिकेको सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।




















