काठमाडौं := नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भएपनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ ।
नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवद्र्धनका लागि “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा लगानीको ठुलो सम्भावना रहेको भएपनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनु भयो । नेपाल बाहिर बस्नेहरुले सामाजिक सञ्जालमा नकरात्मक भावना फैलाएको उहाँको भनाई छ ।
उहाँले नकरात्मकतलाई चिर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक पुँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरु सञ्चालन गर्न सकिने बताउनु भयो । महासंघले आन्तरिक पुँजी परिचालन गर्नकै लागि १० अरव रुपैयाँ बराबरको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि जानकारी दिनुभयो । कम्पनीले ईनोभेट तथा नयाँ स्टार्टअपहरुमा लगानी गर्ने बताउनु भयो । अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानुन र नीतिगत सुधार गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा धेरै सम्भावनाहरु हुँदाहुँदै हामी नकरात्मक हिसावको मात्रै प्रचार प्रसार गर्यौँ । नेपालमा केही सम्भावना छैन । नेपालमा केही भएको छैन भन्ने जुन भाष्य बनाइएको छ, त्यसलाई चिर्न आवश्यक छ । नेपालको आन्तरिक पुँजी परिचालन गरेर पनि केही सक्दैन भन्ने जुन एउटा खास गरेर समाजिक सञ्जालमा नेपालभन्दा बाहीर बस्नेहरुले नेपालमा सम्भावना छैन भनेर नकरात्मक भाष्य खडा गरिएको छ । नेपालम उद्योग महासंघले निजी क्षेत्रको एडभोकेसी गर्ने, रोजगारी सिर्जना गर्ने संस्था भएकोले हामीले के क्याम्पेन गर्यौँ भने नेपालकै पुँजी परिचालन गरेर पनि धेरै ठूला आयोजना गर्न सकिन्छ है भन्ने एउटा म्यासेज दिनु थियो । यसका लागी निजी क्षेत्रका सबै व्यवसायीलाई समेटेर १० अरबको नेपाल डेभलपमेन्ट पव्लिक लिमिटेड भनेर कम्पनी संचालन गर्यौँ र त्यो कम्पनीले स्टाटअप लगानीकर्ताहरुलाई ईक्वीटीको खाँचो भएमा सहयोग गर्नेछ । यो १० अरको कम्पनी संचालन गरेपछि १० अरबलाई यदी ईक्वीटी मान्ने हो भने करिब ४०/५० अरब बराबरको चाँही परियोजनाहरू हामी आन्तरिक पुँजी परिचालन गरेर गर्न सकिन्छ । विशेष गरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको छ ।’
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधवार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवद्र्धनका उपायहरूमाथि छलफल गरिएको छ । कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।




















