क्वालालम्पुर (मलेसिया):= मलेसियाभरि सञ्चालन गरिएको अवैध जुवा कल सेन्टरविरुद्धको ठूलो कारबाहीका क्रममा करिब ८५ जना मानिसहरुलाई पक्राउ गरिएको छ।
क्वालालम्पुर बुकित आमान अपराध अनुसन्धान विभाग (CID) का निर्देशक कमिश्नर दातुक एम. कुमारका अनुसार “अप्स दादु मेगा” नाम दिइएको चारदिने विशेष अपरेसन डिसेम्बर २० देखि २३ सम्म विभागको उप–वाइस, जुवा तथा गोप्य संगठनविरुद्धको डिभिजन (D7) ले सञ्चालन गरेको हो।
यस अवधिमा देशभर २१ वटा परिसरको जाँच गरिएको थियो, जसमध्ये २० वटा अनलाइन जुवा सञ्चालन गर्ने कल सेन्टरका रूपमा प्रयोग भइरहेको पाइएको छ भने एक परिसर स्थानीय नागरिकलाई लक्षित गरी अस्तित्वमै नभएको लगानी योजनाको ठगीमा संलग्न रहेको खुलेको छ।
अपरेसनका क्रममा ६२ पुरुष र २३ महिलासहित कुल ८५ जनालाई पक्राउ गरिएको छ, जसमा ४७ जना मलेसियन नागरिक र ३८ जना विदेशी नागरिक रहेका छन्। उनीहरू जुवा सिन्डिकेटका अपरेटर तथा कस्टमर सर्भिस कर्मचारीका रूपमा काम गरिरहेको पाइएको छ। छापामारीका क्रममा कम्प्युटर, ट्याबलेट, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरणहरू बरामद गरिएको छ।
पक्राउ परेका सबैजनालाई सम्बन्धित जिल्ला प्रहरी मुख्यालयमा लगेर कागजी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको छ। कमिश्नर कुमारका अनुसार यो अपरेसन स्थानीय तथा फिलिपिन्स, चीन र अष्ट्रेलियाजस्ता मुलुकका ग्राहकलाई लक्षित गर्दै अनलाइन जुवा वेबसाइट प्रवर्द्धन र व्यवस्थापन गर्ने कल सेन्टरहरू ध्वस्त पार्ने उद्देश्यले गरिएको हो।
घटनासम्बन्धी अनुसन्धान कमन गेमिङ हाउस ऐन १९५३, दण्ड संहिता ४२० (ठगी), तथा आप्रवासन ऐन १९५९/६३ अन्तर्गत भइरहेको छ। यसैबीच, जनवरी १ देखि डिसेम्बर २३ सम्मको अवधिमा यस्ता ११७ वटा कल सेन्टरमा छापा मार्दा ७१३ जनालाई पक्राउ गरिएको जानकारी दिँदै प्रहरीले अवैध जुवाविरुद्ध कारबाही अझ तीव्र बनाइने जनाएको छ। Source : The Star




















