बंगलादेश अस्तब्यस्त, हसिनाविरोधी अर्का नेतामाथि पनि गोली प्रहार, हिंसा देशभर फैलिँदै।

एजेन्सी := बंगलादेशमा जारी राजनीतिक अस्थिरता र हिंसाले पुनः गम्भीर मोड लिएको छ । पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग सरकारविरुद्ध उभिएका नेताहरू लक्षित हिंसात्मक आक्रमणहरू क्रमशः बढ्दै जाँदा देश नयाँ चरणको अशान्तितर्फ धकेलिँदै गएको विश्लेषकहरूले चेतावनी दिएका छन् ।

सोमबार खुलनाको सोनाडांगा क्षेत्रमा नेसनल सिटिजन्स पार्टी (एनसिपी) खुलना डिभिजन प्रमुख मोहम्मद मोतालेब शिकदरमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । टाउको लक्षित गरी चलाइएको गोली कानबाट वारपार भए पनि मस्तिष्कमा नपुगेकाले उहाँको ज्यान जोगिएको प्रहरीको भनाइ छ । गम्भीर अवस्थामा रहेका मोतालेबलाई तत्काल खुलना मेडिकल कलेज अस्पताल पु¥याइएको थियो ।

प्रहरी अधिकारी अनिमेष मण्डलका अनुसार प्रारम्भिक अवस्थामा उहाँको अवस्था अत्यन्तै नाजुक थियो । ‘गोली मस्तिष्कसम्म नपुगेकाले तत्कालका लागि ज्यान जोगिएको हो’, मण्डलले जनाउनुभयो । मोतालेब शिकदर एनसिपी खुलना डिभिजन प्रमुख हुनुका साथै पार्टीसम्बद्ध मजदुर संगठन ‘एनसिपी श्रमिक शक्ति’का संयोजकसमेत हुनुहुन्छ । उहाँमाथि भएको आक्रमणपछि खुलना क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ । एनसिपीले सोही समयमा मजदुर ¥यालीको तयारी गरिरहेको थियो र मोतालेब त्यसको अगुवाइमा सक्रिय हुनुहुन्थ्यो ।

एनसिपी सन् २०२४ मा बंगलादेशमा भएको विशाल विद्यार्थी आन्दोलनबाट उदाएको राजनीतिक शक्ति हो, जसले शेख हसिना नेतृत्वको सरकारको कडा विरोध गर्दै आएको थियो । मोतालेबमाथि भएको गोली प्रहारलाई धेरै नागरिकले राजनीतिक उत्पीडन र बढ्दो असुरक्षाको अर्को उदाहरणका रूपमा लिएका छन् ।

ढाकामा छात्र नेताको हत्या, अनुसन्धान अझै अन्योलमा

खुलनाको घटनाभन्दा केही दिनअघि राजधानी ढाकामा हसिना-विरोधी छात्र नेता शरिफ उस्मान हादीको गोली हानी हत्या भएको थियो । डिसेम्बर १२ मा ढाकाको विजयनगर क्षेत्रमा, मस्जिदबाट बाहिर निस्कँदै गर्दा नकाबधारी बन्दुकधारीहरूले उहाँको टाउकोमा गोली प्रहार गरेका थिए । गम्भीर घाइते हादीलाई उपचारका लागि सिंगापुर एयरलिफ्ट गरिएको थियो । तर, डिसेम्बर १८ मा उपचारकै क्रममा ३२ वर्षीय हादीको मृत्यु भयो ।

हादी इन्कलाब मञ्चका प्रवक्ता तथा गत वर्षको छात्र-नेतृत्वको आन्दोलनका प्रमुख अनुहार हुनुहुन्थ्यो । सो आन्दोलनकै कारण शेख हसिना नेतृत्वको अवामी लिग सरकार सत्ताच्युत भएको थियो । उहाँ आउँदो १२ फेब्रुअरी २०२६ मा हुने आम निर्वाचनका लागि उम्मेदवारसमेत हुनुहुन्थ्यो । घटना भएको १० दिन बितिसक्दा पनि हत्यामा संलग्न व्यक्तिबारे ठोस सुराग फेला नपरेको बंगलादेश प्रहरीले जनाएको छ ।

आइतबार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा अतिरिक्त प्रहरी महानिरीक्षक (आइजिपी) खान्देकर रफिकुल इस्लामले मुख्य संदिग्ध फैसल करिम मसुदको खोजी जारी रहे पनि उनको हालको अवस्थाबारे ‘विशिष्ट जानकारी’ नभएको बताउनुभयो, ‘हाम्रा सेना र गुप्तचर एजेन्सीहरू सक्रिय रूपमा अनुसन्धानमा छन्’, उहाँले भन्नुभयो ।

प्रहरीका अनुसार संदिग्ध आक्रमणकारी देश छोडेर गएको भन्ने कुनै विश्वसनीय प्रमाण छैन । जाँच शाखाका प्रमुख शफिकुल इस्लामले प्रारम्भिक अनुसन्धानमा हत्यामा व्यक्तिगत कारण नदेखिएको र यो राजनीतिक उद्देश्यबाट प्रेरित हुनसक्ने संकेत देखिएको बताउनुभयो ।

देशव्यापी तनाव, भारत पनि सतर्क

हादीको हत्यापछि बंगलादेशभर आक्रमण, तोडफोड र प्रदर्शनका घटनाहरू पुनः सुरु भएका छन् । उहाँको हत्याको विरोधमा इन्कलाब मञ्च र जमातसम्बद्ध कट्टरपन्थी समूहहरूले बेनापोलदेखि भारत-बंगलादेश सीमासम्म मार्च निकालेका थिए । उनीहरूले शेख हसिनालाई बंगलादेश सुपुर्दगी गर्नुपर्ने मागसमेत उठाएका छन् । चटगाउँको चन्द्रनाथ मन्दिर वरपर धार्मिक नाराबाजी भएको रिपोर्ट पनि आएको छ ।

बंगलादेशमा बढ्दो हिंसा र भारतविरोधी गतिविधिका कारण भारत पनि सतर्क बनेको छ । भारतीय सेनाको ईस्टर्न कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल आर.सी. तिवारीले भारत–बंगलादेश सीमा क्षेत्रको निरीक्षण गरेका छन्। यसैबीच ढाकास्थित भारतीय दूतावासको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार आगामी निर्वाचन नजिकिँदै गर्दा यस्ता लक्षित आक्रमण र हिंसात्मक गतिविधि निरन्तर बढिरहे बंगलादेश गृहयुद्ध जस्तै अवस्थातर्फ जानसक्ने गम्भीर खतरा देखिएको छ । देशको सुरक्षा अवस्था, राजनीतिक संवाद र निष्पक्ष अनुसन्धान अहिले बंगलादेशका लागि सबैभन्दा ठूलो चुनौती बनेको उनीहरूको ठहर छ । (एजेन्सीको सहयोगमा)