कुन संसद ब्युँताउन खोज्नुभएको, भ्रष्टाचार काण्ड सामसुम पार्ने संसद् ? : सभापति लामिछाने।

काठमाडौं := ठूला दुई दल प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा पुनःस्थापनाले निकास नदिने बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालयमा भएको स्वागत कार्यक्रममा लामिछानेले चुनावमा जानुअघि ‘जेन-जी’ विद्रोहका माग पूरा गर्नुपर्ने बताउनुभएको हो । ‘कुन संसद् ब्युँताउन खोज्नुभएको तपाईंले ? जनताको मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद् ? भ्रष्टाचारका काण्डमा छानविन गर्नुभन्दा संख्याको बलमा सामसुम पार्न ब्युँताउन खोज्नुभएको होइन ? भयो देखियो तपाईंको दुईतिहाइ’, लामिछानेले भन्नुभयो ।

उहाँले भदौ २३-२४ को विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्न जरुरी रहेको बताउनुभयो । ‘युवाहरूको विद्रोहलाई क्रान्तिलाई बदल्न बाँकी छ, सिंहदरबार बनाउँला बदल्न बाँकी छ । भत्किएका संरचना बनाउने मात्र होइन बदल्ने तागत हामीसँग छ,’ लामिछानेले भन्नुभयो, ‘अहिलेको निकासका लागि निर्वाचनमा जानुको विकल्प छैन, त्यसअघि ‘जेन-जी’ विद्रोहका अपेक्षा पूरा गर्नुपर्छ ।’