म कार्यकर्ता खोज्न वा पार्टी बनाउन होइन, देश बनाउन राजनीतिमा आएको हुँ: हर्कराज साम्पाङ।

बुटवल:= श्रम संस्कृति पार्टीका संयोजक हर्कराज राई (साम्पाङ)ले आफू पार्टी विस्तारका लागि नभई देश निर्माणका लागि राजनीतिमा आएको दाबी गर्नुभएको छ। शनिबार रुपन्देहीको बुटवलमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै साम्पाङले नेपाललाई विश्वको ध्यान खिच्ने देश बनाउने सम्भावनाको खोजीमा आफू लागिरहेको बताउनुभयो।

“संसारभरिका मिडिया नेपाल आउन चाहने खालको देश बनाउने कि नबनाउने भन्ने प्रश्न हाम्रो हातमा छ,” उहाँले भन्नुभयो, “म यही सम्भावना खोज्दै हिँडेको हुँ। तपाईंहरूलाई लाग्न सक्छ—कार्यकर्ता खोज्न आएको हो, पार्टी बनाउन आएको हो भनेर। तर मलाई पार्टी बनाउन छैन, भत्किएको यो देश बनाउन चाहेको हुँ।”

उहाँले देशमा व्याप्त अन्याय, अत्याचार र भ्रष्टाचारको अन्त्यका लागि सबै नागरिक एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। “यदि साँच्चिकै परिवर्तन चाहिन्छ भने हामी सबै लामबद्ध भएर अघि बढ्नुपर्छ। हरेक मान्छेले काम गर्नैपर्छ,” उहाँले आग्रह गर्नुभयो।

काम सानो–ठूलो नहुने उल्लेख गर्दै साम्पाङले श्रमको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। “प्रधानमन्त्रीले गर्ने काम ठूलो र ड्राइभर वा सरसफाइ कर्मीले गर्ने काम सानो भन्ने सोच गलत हो,” उहाँले भन्नुभयो, “कामलाई सानो ठानेर अपमान नगर्नुहोस्।” उहाँले कामलाई सानो–ठूलो भनेर ठगेर खाने र श्रमबाट पन्छिने प्रवृत्ति समाजमा बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो।