‘परान’ले मनायो प्रदर्शनको ५१औं दिन, कमाइँ करिब १७ करोड ६० लाख रुपैयाँ।

काठमाडौं:= यस वर्षको चौथो सफल नेपाली चलचित्र ‘परान’ले प्रदर्शनको ५१औं दिन पूरा गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ । शनिबार ५१औं दिन मनाएको यो चलचित्र अझै देशभरका आधा दर्जनभन्दा बढी सिनेमा हलमा प्रदर्शनरत छ । यससँगै ‘परान’ यस वर्ष ५१औं दिन मनाउने तेस्रो नेपाली चलचित्र बनेको छ । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले उक्त उपलब्धि हासिल गरेका थिए ।

५१औं दिनको अवसरमा फिल्मको निर्माण पक्षले टोखास्थित एक अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको छ । यसका साथै केही दिनभित्र ‘सक्सेस पार्टी’ आयोजना गर्ने तयारीसमेत गरिएको निर्माण टिमले जनाएको छ । बक्स अफिसमा चलचित्रले ५१औं दिनको अवधिमा करिब १७ करोड ६० लाख रुपैयाँ ग्रस व्यापार गरेको छ । यससँगै ‘परान’ले ‘छक्का पञ्जा ४’ र ‘जारी’ जस्ता चर्चित चलचित्रको व्यापारिक आँकडा उछिन्दै उल्लेखनीय सफलता हासिल गरेको छ ।

चलचित्र ‘परान’ नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाइ गर्ने चौथो फिल्मको सूचीमा समेत समावेश भएको छ । हालसम्म योभन्दा बढी कमाइ गर्ने फिल्महरूमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख रुपैयाँ), ‘कबड्डी ४’ (२१ करोड ४० लाख रुपैयाँ) र ‘पूर्णबहादुरको सारंगी’ (४६ करोड ८७ लाख रुपैयाँ) रहेका छन् ।

प्रदर्शनको सुरुवाती पाँच दिनसम्म कमजोर व्यापार देखिएको ‘परान’ले छैटौं दिनदेखि भने उल्लेखनीय रफ्तार समातेको थियो । दर्शकबाट प्राप्त बलियो ‘वर्ड अफ माउथ’का कारण यस चलचित्रले पाँच सातासम्म आक्रामक कमाइलाई निरन्तरता दियो । यस अवधिमा प्रदर्शनमा आएको ‘जारी २’ जस्तो सिक्वेल चलचित्रसमेत ‘परान’को छायाँमा परेको थियो । मंसिर महिनासम्म हलहरूमा ‘परान’कै दबदबा देखिएको थियो ।

बाबु–छोराबीचको भावनात्मक सम्बन्धको कथामा आधारित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ । हाँस्य कलाकारका रूपमा परिचित दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेको यो चलचित्र उहाँको पहिलो निर्देशकीय प्रयास हो ।