एमालेमा तीन महिनामै उल्टियो विधान अधिवेशनको निर्णय, कमिटी पुरानै ‘मोडेल’मा।

काठमाडौं := नेकपा एमाले पार्टीले तीन महिनाअघि सम्पन्न विधान महाधिवेशनमा लिएका निर्णयहरूलाई उल्टाउँदै पदाधिकारी संख्या बढाउने निर्णय गरेको छ । पार्टी नेतृत्वले विधान महाधिवेशनको निर्णय परिवर्तन गर्नुको स्पष्ट कारण खुलाएको छैन । तर, नेता व्यवस्थापनको समस्यालाई कारण मानिएको छ ।

एमालेले विधि-विधानमाथि छलफल गर्न र आवश्यक संशोधन गर्न भन्दै गत भदौमा विधान महाधिवेशन आयोजना गरेको थियो । तर, गत भदौमा सम्पन्न पार्टी विधान महाधिवेशनले गरेको निर्णयलाई एमालेले महाधिवेशन उद्घाटन भइसकेपछि बसेको केन्द्रीय समितिको बैठकबाट उल्टाएको छ ।

पार्टीको महाधिवेशन बन्द सत्र स्थल भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकको निर्णयसँगै विधान महाधिवेशनको औचित्यमै प्रश्न खडा गरेको छ । बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको पदाधिकारी संख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको हो ।

अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको छ । प्रस्ताव महाधिवेशनको बन्द सत्रबाट अनुमोदन भएपछि कार्यान्वयनमा जानेछ । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा झारेको थियो ।

अहिले पदाधिकारीका आकांक्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी संख्या बढाएर पुनः १९ पु¥याउनुभएको छ । नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ ।

अब भने विधान संशोधनपछि अध्यक्ष एक, उपाध्यक्ष पाँच, सचिव नौ, महासचिव एक, उपमहासचिव तीन हुनेछ । विधान महाधिवशेनले पारित गरेको विधानलाई राष्ट्रिय महाधिवेशनले संशोधन गर्नसक्ने प्रावधान छ ।

हट्यो वरिष्ठ उपाध्यक्ष पद, सचिव बढे

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिनुभएको हो । गौतमका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन, सचिव नौ, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

उहाँले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसात गर्दै अगाडि जाने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि एमालेमा अहिले अध्यक्षका प्रत्यासी रहनुभएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष । त्यस्तै, उपाध्यक्षको संख्या ६ बाट घटाएर पाँच बनाइएको छ । सात जना सचिवमा भने दुई थपेर नौ पुर्‍याइएको छ ।

यस्तो हुनेछ एमालेको केन्द्रीय नेतृत्व
-अध्यक्ष : एक
-उपाध्यक्ष : पाँच
-महासचिव : एक
-उपमहासचिव : तीन
-सचिव : नौ
-सदस्यीय स्थायी कमिटी सदस्य-३३
-पोलिट्ब्युरो सदस्य-९९
-केन्द्रीय कमिटी-३०१ सदस्यीय

उम्मेदवारी दर्ता आज बिहान ११ बजेपछि

नेकपा एमालेको आगामी पाँच वर्षको लागि नेतृत्व चयन आज हुँदै छ । एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज (सोमबार) बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ ।

एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब पाँच प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।